समाचार

११ वर्ष वित्यो, न्यायका लागि लड्दैछन् पीडित

चितवन, जेठ–२३ ।  चितवनको दक्षिण माडीमा भएको बाँदरमुढे घटनाको आइतबार ११ वर्ष पुग्यो । घटना भएको ११ वर्ष  पुग्दा पनि पीडितले अझै न्याय पाएका छैनन् । तत्कालीन नेकपा माओवादीले यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले न्याय दिन माग गर्दै आएका छन् ।

बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले न्याय नपाउने आशङ्का बढिरहेको भन्दै पीडितलाई थप पीडा नदिन आग्रह गरे ।

विसं २०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना२ख ३२४५ नम्बरको बसमा माओवादीले बम विस्फोट गराएको थियो ।

अहिलेसम्म घाइतेमध्ये थप चार जनाको मृत्यु भएको छ भने चार जनाले नियमित रुपमा मानसिक औषधि खाइरहेका छन् । अन्य घाइतेको अवस्थासमेत सामान्य हुन नसकेको घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिए ।