समाचार

उभौली साकेला विधिवतरुपमा सम्पन्न

काठमाडौं । वैशाखे पूर्णिमाको दिनदेखि शुरु भएको किरात राई जातिको महत्वपूर्ण चाड उभौली साकेला विधिवतरुपमा समापन भएको छ ।
पूर्वी नेपाल लगायत देशभर रहेका कितार धर्मावलम्वीले मनाउने उभौली साकेला शनिबारबाट समापन गरिएको हो ।  बर्षेनी वैशाखे पूर्णिमाको दिन भूमि पूजा गरेर जिल्ला व्यापीरुपमा साकेला नाच्न शुरु गर्ने पूर्वका किरातहरुले औंशीको दिन भव्यरुपमा प्रर्दशनी गरेर समापन गर्छन् ।

पूर्वी नेपालका खोटाङ, मोरंग, उदयपुर र सप्तरीबाट लगायत राई तथा लिम्वुहरुको बाहुल्य रहेका जिल्लामा साकेला सिली धुमधामसाथ मनाइन्छ ।
प्रकृति पूजक किरात राईहरुले उभौली चाड मनाउन विभिन्न सिलि (शैली)मा नाच्ने नाच नै साकेला हो । किरातीहरुले बाली लगाउने बेला भएपछि पूर्खाहरुलाई सम्झेर भुमि पूजा गर्छन् । अन्नबाली सप्रियोस, सुखशान्ति छाओस भनेर किरातीहरु प्रकृति पुज्छन् ।

मंसिरमा किरातीहरुले बाली भित्र्याउनुअघि पनि भूमि पूजा गर्छन् र आफ्नो पूर्खाहरुलाई अन्नबाली चढाउछन् । यो चाडलाई उधौली भनिन्छ । मंसिरे पुर्णिमामा वाली भित्र्याउने बेला भएपछि भने उधौली पूजा गर्छन् ।