समाचार

रातो मच्छिन्द्रनाथ जात्राको रौनक जारी

काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्राले यतिबेला काठमाडौं उपत्यकाका नेवार समुदायमा रौनकता ल्याएको छ । नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मच्छिन्द्रनाथको जात्रा करिब तीन साता अघिबाट शुरु भएको हो । जात्रा सकिन अझै केही समय लाग्नेछ । यो जात्रा काठमाडौ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब एक हजार ६ सय वर्ष अघि सुरु भएको मच्छिन्द्रनाथको रथ जात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म (करिब दुई महिना) चल्ने गर्दछ । 

जात्राको  ऐतिहासिक पृष्ठभूमिः
वि.सं. ५४६ देखि जात्रा शुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । 
ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथ अक्षय तृतियादेखि शुभ साइत पारी मच्छिन्द्रनाथको रथारोहण गरिन्छ । भगवान मछिन्द्रनाथलाई रथमा विराजमान गराइसकेपछि विधिवत रुपमा रथ यात्रा शुरु हुन्छ । रथ तान्नु अगाडी गुरुज्यूको पल्टनबाट सलामी समेत दिइन्छ । बाजागाजासहित तान्न थालिएको रथ यात्रा पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पु¥याईन्छ । दोस्रो दिन सुन्धारा पु¥याइन्छ भने सुन्धारा पु¥याएको एक दिन रथ सोही स्थानमा राखिन्छ । त्यहाँ भएका स्थानीयहरुले सोही दिन मच्छिन्द्रनाथको पूजा अर्चना गर्छन् । त्यसपछि ललितपुरको थटीटोलमा रथ पु¥याएर नरिवल जात्रा निकाल्ने परम्परा छ । जहाँबाट जावलाखेल लैजान ज्योतिषहरुले साइत हेर्दछन् । थटीटोलबाट जावलाखेल लैजाँदा पश्चिम गमन हुने भएकाले साइत हेर्ने परम्परा चलेको ज्योतीषिहरु बताउँछन् । 

यात्रा जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु¥याइन्छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ । 

जात्रामा के के हुँदैछ ? 
गत बैशाख ११ गतेबाट थालिएको रथ निर्माणको काम त्यसको करिब दुई सातापछि निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न भएसँगै ज्योतिषहरुले साइत जुराएर वैशाख २५ गते रथारोहण र २८ गतेबाट रथ तान्न थालिएको हो । १३ तलाको ३२ हात अग्लो र ३२ हात लामो रथलाई गाःबहालबाट महापाल, मंगलबजार, सुन्धरा, महाबौद्ध, थैना, टंगाल, लगनखेल हुँदै थतिटोल पु¥याइन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तःबहालमा ल्याइएको हो । पुल्चोकमा बनाइएको रथमा मूर्तिको रथारोहण गरिएपछि रथ तान्ने क्रम जारी छ  । रथलाई ललितपुरका टोल टोलमा पु¥याउने क्रम जारी नै रहेको छ । 
रथ निर्माणका लागि काठ, वेद र जुटबाट बनेको डोरीको प्रयोग गरिन्छ । यो जात्रामा लाग्ने सम्पूर्ण खर्च गुठिसंस्थानले व्योहोर्दै आएको छ । जात्रा मनाउन वार्षिक ३० लाख रुपैयाँ खर्च हुँदै आएको गुठी संस्थान ललितपुरका अध्यक्ष बैकुण्ठ आचार्यले बताउनुभयो । 

रथ निर्माण शुरुभएदेखि भोटो देखाइँदासम्म विभिन्न साइत हेरेर नै परिक्रमा गरान्छ । साइत हेर्ने काम ललितपुरका जोशी(नेवार) ज्योतिषरुले गर्दछन् । पहिले चार जना ज्योतिषहरुले साइत हेरेर रथको परिक्रमा गराउने भए पनि पछिल्लो समय दुई परिवारका सदस्यले मात्र साइत निकाल्ने काम गर्दै आएका छन् । ज्योतिषशास्त्रको अध्ययन र अभ्यास गर्न छोडेपछि साइत हेर्ने ज्योतिषहरु दुई सदस्यमा सिमित भएको हो । रथ बनाउनेदेखि रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउने, भोटो देखाउनेसम्मको सबै साइत पाटनका स्थानीय कीर्ति मंगल जोशी र पूर्णमंगल जोशीले गर्दै आउनु भएको छ । अबको केही दिनमै मच्छिन्द्र नाथको भोटो देखाउने साइतको निक्र्यौंल गरिने ज्योतिषद्वयले बताउनुभयो । शुभ साइत जुराएसँगै मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा समापन गरिने उहाँले बताउनुभयो । समापन समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहन्छ । 

गत वर्ष २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण जात्रा प्रभावित भए पनि यो वर्ष भने जात्रा रोमाञ्चक र सहजरुपमा भइरहेको छ । तर पनि भूकम्पले भत्किएका घर र टेकोका भरमा ठड्याइँएका घरको आँगन भएर रथ परिक्रमा गर्नुपर्दा सास्ती भने उस्तै छ । 

भोटो देखाउनुको अर्थः
लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी ग¥यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद प¥यो । सो विवाद राजासमक्ष पु¥याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउञ्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ । 

(न्यूयोर्क समाचार: वर्ष १ अंक २ जेठ १५ शनिबार २०७३ मा प्रकाशित)