समाचार

विश्व शान्तिका लागि लुम्बिनी घोषणापत्र जारी

काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले विश्व शान्तिका लागि १२ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बन्द गोष्ठी सम्पन्न भएको छ । २५६० औं बुद्धजयन्तीका अवसरमा बिहीबार लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी ४० देशका प्रतिनिधिले विश्व शान्तिका लागि बुद्धदर्शन प्रेरणाको स्रोत बनेको निष्कर्ष निकाल्दै १२ बुँदे घोषणापत्र जारी गरेका हुन् ।
 
संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोख्रेलले सम्मेलनको साझा धारणाका रूपमा उक्त घोषणापत्रलाई शनिबार लुम्बिनीमा आयोजित सामारोहमा सार्वजनिक गरे । दुई दिनसम्म काठमाडौंमा भएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले काठमाडौं–लुम्बिनी घोषणापत्र जारी गरेको हो ।  घोषणापत्रमा ‘विश्व शान्तिका लागि बुद्धको सन्देशको चर्चा गर्दै लुम्बिनीको विकास र प्रचारमा जोड दिनुपर्ने, बुद्ध नेपालको लुम्बिनीमा नै जन्मेको कुरामा विवाद नभएकाले लुम्बिनी गुरुयोजना पूरा गर्दै तिलौराकोट, कुदान, देवदह, रामग्रामको विकासमा जोड दिनुपर्ने, ग्रेटर लुम्बिनी योजना बनाएर लुम्बिनीलाई शान्ति सहर बनाउनेतर्फ नेपाल सरकारले जोड दिनुपर्ने लगायतका कुरा उल्लेख छ ।
 
लुम्बिनी बुद्धिज्मको उद्गमस्थल रहेकाले विश्वजगत्का बुद्ध अनुवाइको आकर्षकणको केन्द्रबिन्दुका रूपमा विकास गर्न प्रचार गर्नुपर्ने, यस क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको समन्वय बढाउनुपर्ने, बुद्ध शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, लुम्बिनीलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकसित गरिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका सहभागीले बुद्धवादको उद्गमस्थल लुम्बिनी र बुद्धसन्देश एवं दर्शनको आत्मसात गर्न सके शान्ति फैलाउन टेवा पुग्ने बताए । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धले प्रतिपादन गरेको  शान्ति, भ्रातृत्व, अहिंसा र करुणाको सन्देश अहिले थप सान्दर्भिक भएको बताइन् । उलने बुद्धको उपदेशको पालना हिंसापीडित क्षेत्रमा शान्ति बलहालीका कार्यका लािग उत्तिक सान्दर्भिक रहेको बताइन् । रुपन्देही, नवलपरासी, कपिलवस्तुमा रेको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलहरुको यथास्थितिमा संरक्षण र विकास गरी अन्तर्राष्ट्रिय स्तको पर्यटकीय क्षेत्र बनाउन स्थानीय नजताको चाहना पूरा गर्न उलने सरकारसँग आग्रह गरिन् ।
उनले विश्व शान्तिका लागि देशहरूबीच अहस्तक्षेपको नीति, पारस्परिक सहयोग आदानप्रदान र बाहुबल त्याग्दै अन्तर्राष्ट्रिय जगत्मा मित्रता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएकी थिइन् ।
 
लुम्बिनीमा शनिबार आयोजित २५६० औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले अहिंसाका अनुयायी बुद्धको २५ सय वर्षभन्दा अघिको सन्देश आजको वैज्ञानिक युगमा पनि धेरै महत्त्वपूर्ण र आत्मसात गर्न योग्य ठहरिएको बताइन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले लुम्बिनीमा पाँच हजारजना क्षमताको सभाहल एक वर्षभित्र निर्माण गरिने उद्घोष गरेका छन् । सम्मेलनले ग्लोबल बुद्धिस्ट फोरम संस्था गठन गरेको जानकारी पनि ओलीले दिए । सम्मेलनमा संसारका ४० देशका प्रतिनिधि सहभागी थिए ।
 
नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले आफू बुद्ध र अशोकको सन्देशबाट प्रभावित भई युद्ध त्यागेर शान्तिको मार्गमा प्रवेश गरेको बताए । लुम्बिनीलाई विश्वमा चिनाउन संयुक्त राष्ट्रसंघका महासचिवलाई लुम्बिनी ल्याउन आफू ग्रेटर लुम्बिनीको संयोजक बनेर उच्चस्तरमा योजना अगाडि बढाएको पनि उनले बताए ।
 
कांग्रेस सभापति शेरबहादुर देउवाले बुद्धको सन्देशलाई विश्वभर अझ व्यापक बनाउन सरकारले वातावरण तयार पार्नुपर्ने बताए । समारोहका लागि राष्ट्रसंघका महासचिव बान की मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले शुभकामना सन्देश पठाएका थिए । ती सन्देशलाई कोषका सूचना अधिकृत ज्ञानेन्द्र राईले पढेर सुनाएका थिए । समारोहमा चीनका बुद्ध सोसाइटीका उपाध्यक्ष, चिनियाँ राजदूत, श्रीलंकाका राजदूत, थाइल्यान्डका संस्कृतिमन्त्रीलगायत हजारौंको उपस्थिति थियो ।