समाचार

पूर्वाञ्चलमा साकेला उभौलीको रौनक

काठमाडौं । पूर्वाञ्चलमा साकेला उभौली तथा यले संवत् ५०७६ को रौनक शुरु भएको छ । किरात धर्माबलम्बीहरु यतिबेला साकेला उभौलीका शुभकामना आदानप्रदानमा व्यस्त छन् । साकेला उभौलीको अवसरमा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान तथा खुसियाली मनाउन थालिएको छ । महिना दिनसम्म मनाइने उभौली चाडका अवसरमा किरातीले भूमि तथा अन्नबालीको पूजा गर्दै मनाउने गर्दछन् ।

किराती जातिको मात्र चाड मानिँदै आइए पनि जातीय सद्भाव तथा सांस्कृतिक सहअस्तित्व कायम राख्दै पछिल्लो समय सबै जातजाति उभौली चाडको खुसियाली साट्दै  आएका छन् । उभौलीको अवसरमा खोटाङको दिक्तेलस्थित यायोख्खाको भवन प्राङ्गणमा विधिवत् रुपले साकेला शिलीको सुरु गरी ऐतिहासिक मझुवागढीमा गएर धुमधाम नाच्ने यायोख्खाले जनाएको छ ।

यसैबीचमा नातागोता, इष्टमित्र, बाउ–माइती, छोरीचेली भेटघाट गर्दै ढोल र झ्याम्टाको तालमा गोलो घेरा भइ नाच्ने चलन छ । वर्षको दुई पटक उद्यौली र उभौलीमा प्रकृतिमा पाइने विभिन्न चराचुरुङ्गी तथा जीवजन्तुको समेत नक्कल गर्दै साकेला शिली नाच्ने गरिएको छ ।

चराचुरुङ्गी लेकबाट बेँसीतिर झर्ने या जाडोयाममा उधौली र बेँसीबाट लेकतिर जाने समय या गर्मीयाममा उभौली पर्व मान्ने गरिन्छ । किरात धर्मावलम्वीले अन्नबाली सप्रियोस्, रोग ब्याधी नलागोस्, आपत्विपत् नपारोस् भन्दै प्रकृतिसँग कामना गर्दै यो पर्व मनाउने गर्दछन् । यसैबीच, देश विदेशमा रहेका किरात धर्मावलम्वीहरुले समेत सोही क्षेत्रमा साकेला उभौली विशेष कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन् ।