समाचार

कालिकोटमा भीषण पहिरो, चार जनाको मृत्यु

कालिकोट । अविरल वर्षासँगै कालीकोटका कोटावाडा गाविसको लालिघाट बजारमा गएको भीषण पहिरोमा पुरिएर चार जनााको मृत्यु भएको छ । पहिरोले बजारमा रहेका पसल बगाउँदा चार जनाको मृत्यु भएको हो भने  भने तीन जना बेपत्ता भएका छन् । पहिरोले बजारमा रहेका दुई दर्जन बढी पसल बगाएको छ भने करिब २० करोड बराबरको सामान क्षति भएको बुझिएको छ ।

पहिरो गएपछि जिल्ला सदरमुकामबाट प्रहरीलगायतको टोली उद्धारका लागि खटिएको छ । जिल्लाबाट प्रहरीसहित प्रहरी प्रमुख डिएसपी, प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको टोली पुगेको छ । पहिरोमा परी मृत्यु हुनेमा स्युना–५ का ३० वर्षीय हरि तिरुवा, स्युना–२ का सञ्जीत टमट्टाको श्रीमती धनमती टमटा, धौलागोह–९ का लक्षु भण्डारी र थिर्पु–६ का चक्र बमको चार वर्षीया छोरी सुदीस्मा बम रहेका छन् ।

त्यसैगरी बेपत्ता हुनेमा स्युना–२ का ६० वर्षीय सञ्जीत टमटा, रकु–१ का ५२ वर्षीय मनीराम जैसी र बाजुरा गात्री–१ का दुई वर्षीय बालक अभिषेक सार्की रहेका प्रहरी सहायक निरीक्षक टेकबहादुर जोराले बताए ।

बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ । उनका अनुसार लालिघाट बजारमा प्रहरी, नेपाली सेना र स्थानीयद्वारा उद्धार कार्य जारी राखेको र एक दर्जन पसलमा सम्पूर्ण सामान बगाएर लगेकाले कसको कति क्षति भयो भन्नेबारेमा वास्तबिक जानकारी आउन समय लाग्ने बताइएको छ ।

अघिल्लो साता कालिकोट र दैलेखको बीचमा पर्ने दैखोलामा पहिरो जाँदा एक जनाको मृत्यु भएको थियो भने एक दर्जन पसल बगाएर ५० लाख बढीको क्षति भएको घटना सेलाउन नपाउँदै अर्का घटना घटेको हो ।