समाचार

रहेनन् युवा पत्रकार सूर्यकुमार क्षेत्री

काठमाडौं । युवा पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ।

डेढ वर्षदेखि उपचाररत क्षेत्रीको बिहीबार राति सवा ९ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।  लामो समय उज्यालो एफएममा कार्यरत क्षेत्री प्रेस युनियनका सचिवसमेत हुन् ।
०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भएको थियो । पछिल्लो केही महिनादेखि समस्या बल्झिएपछि उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । यसअघि वरिष्ठ न्युरोसर्जन डा। बसन्त पन्तको टोलीले पत्रकार क्षेत्रीको बुधबार दिउँसो सल्यक्रिया गरेको थियो।

स्याङजा निवासी क्षेत्रीका श्रीमती र एक नाबालक छोरा छन् । आमा बुवा गृहजिल्ला स्याङजामै बस्दै आएका छन् । क्षेत्रीको शुक्रबार काठमाडौंमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।

यसैबीच नेपाल प्रेस युनियनले क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।