समाचार

वर्ष दिन पुग्नै लाग्यो, पूनःनिर्माण महाअभियान खै ?

काठमाडौं । विनासकारी भूकम्प गएको एकवर्ष पुग्नै लाग्दा समेत प्रभावितका लागि देखिने गरी काम शुरु हुन सकेको छैन । राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणले बर्षा अगाडि अधिंकाश भूकम्प प्रभावितका लागि घर निमार्णको पहिलो किस्ता रकम दिने भनेपनि कामले गति लिएको छैन ।

बिनासकारी भूकम्प गएको ९ महिनापछि गत माघ २ गतेबाट सरकारले राष्ट्रिय पूर्ननिर्माण महाअभियान शूरु गरेको थियो । तर अभियान शूरु गरेको ३ महिना बितिसक्दा पनि भूकम्पप्रतिरोधी र दिगो किसिमका बसोबासका संरचना निमार्णका लागि सरकारले गठन गरेको राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणले पीडितका लागि देखाउने गरी ठोस काम गर्न सकेको छैन । भूकम्प गएको १ बर्ष बित्नै लाग्दा समेत अपेक्षा अनुरुप काम नगरेको भन्दै प्रधानमन्त्रीदेखि जनस्तरबाट समेत प्राधिकरणको चर्को आलोचना भइरहेको छ । कर्मचारी भर्ना, लगत संकलन र पूर्ननिमार्णको कार्ययोजना बनाउने लगायतका काममा अल्झिएको प्राधिकरणले भूकम्पको बार्षिकी अर्थात बैशाख १२ देखि देखिने गरी काम गर्ने दावी गरेको छ । असार अगाडि घर निमार्णका लागि पहिलो किस्ताको रकम अधिकांश प्रभावित जिल्लामा बितरण गर्ने पुर्ननिमार्ण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाको भनाइ छ । 

भूकम्प प्रभावितका झन्डै ६ लाखको हाराहारीमा भत्किएका बासस्थानको पूर्ननिमार्णका लागि थालिएको लगत संकलनको काम यतिबेला अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले हालसम्म ११ जिल्लाका २ सय ६९ गाबिसको लगत संकलनको काम सकेको र बाँकी स्थानको केही साताभित्र सक्ने लक्ष्य लिएको छ । जेठको अन्तिम सातासम्म राहत पाउने लाभग्राहीको सूची निकालीसक्ने र पूर्ननिमार्णका लागि प्रभावित जिल्लाका सभासदहरुको सहभागितामा गठित समन्वय समितको समन्वय र ब्यवस्थामा पूर्ननिमार्णको काम थालिने प्राधिकरणको भनाई छ । पूर्ननिर्माणका लागि गएको असार १० गते भएको दातासम्मेलनको प्रतिबद्धता अनुुसार दातृनिकायमार्फत रकम आउने क्रम जारी रहेको छ । भारतले घोषणा गरेको १ खर्ब मध्ये एक चौथाई रकम र चिनले घोषणा गरेको रकम पनि आइसकेको छ । तर प्राप्त भएको रकम समयमै कसरी खर्च गर्ने भन्ने चुनौती रहेको प्राधिकरणको भनाई छ । 

अर्थ मन्त्रालयले पुनर्निर्माणका लागि निकासा गरेको ६५ अर्बमध्ये ३३ अर्ब रुपैयाँ प्राधिकरणले क्षतिग्रस्त निजि भवन निर्माणका लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएको छ । तर प्राधिकरणको कमजोर ब्यवस्थापन, समन्वय, र ढिलो काम गराईका कारण प्रभावितले असार अगाडीनै पहिलो किस्ताको रकम पाउलान भन्नेमा शंका उब्जिएको छ ।