समाचार

खडेरीले खाद्यान्नसँगै पानीको पनि अभाव

जाजारकोट । जाजरकोटमा लामो समयको खडेरीले पानीको मुहान सुकेका छन् । खडेरीका कारण खानेपानीको मुहान मात्र होइन भेरी नदीको सतह पनि आधा घटेको छ । 

मुहान नै सुकेपछि जाजरकोटका अधिकांश गाउ बस्तीमा खानेपानीको चरम अभाव भएको छ । लामो खडेरीले खतीबालीमा समेत प्रभाव परेको छ । किसानले धानको बिउ समेत राख्न पाएका छैनन् । हिमालमा हिउँ समेत नहुँदा नदीको पानी घटेको जानकारहरू बताउँछन् । लामो खडेरीका कारण भेरी नदी मात्र होइन सानो भेरी, नलगाड, सरुगाड, मजकोट गाड लगायत खोलामा पानी आधा घटेको छ । 

भेरीमालिका नगरपालिकाको १३ वटै वडामा खानेपानीको चरम समस्या भएको छ । मुहान सुकेपछि थाप्ले, स्याँला, पिपलडाडा, गैरीखाली, बोहरा, रिसाङ, ठाँटीबजार, मुलपानी, दारा, भुर, जगतीपुर, कुदुलगायत स्थानमा पानीको हाहाकार भएको छ । स्थानीयबासी २ घण्टा टाढाको खोला, नदी र कुवाबाट पानी ल्याउन बाध्य छन् ।