समाचार

कालोबजारी र महंगीको मारमा उपभोक्ता

काठमाडौं । भूकम्प र नेपाल भारत सीमा क्षेत्रमा लामो समयसम्म जारी रहेको अबरोधले समग्र नेपाली बजार प्रभावित पा¥यो । अत्यावश्यक मानिने ग्याँसको अभाव झेलिरहेका उपभोक्ता अहिले कालोबजारी र महंगीले दैनीकि नै अफ्ठ्यारोमा पारेको गुनासो गरिरहेका छन् । 

पेट्रोलको हाहाकार केही कम भएपनि लाईन बसेर पालो कुर्नुपर्ने बाध्यता अझै पूर्ण रुपमा अन्त्य भएको छैन् । अझैपनि उपभोक्ताले सहज रुपमा मागेजति डिजेल पाउन सकेका छैनन । ग्याँसको अभाव त यथावत नै छ । अभावसँगै बजारमा महंगी बढ्दा दैनन्दिन प्रभावित बनेको गुनासो उपभोक्ताको छ । 
हुँनत, उपभोक्ताको यो गुनासोलाई अनुगमन तथा उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने अख्तियारी पाएको सरकारी निकाय आपूर्ती व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभाग स्वयम पनि स्विकार गर्छ । विभाग अनुगमन तिब्र बनाएको दाबी मात्रै गर्दैन, उपभोक्तालाई राहत र सहुलियत दिन विभिन्न विकल्पको अभ्यास र तयारी भइरहेको बताउँछ । 

राष्ट्रबैंकको केही समय अघिको तथ्याङ्कले पनि सरदरमा मुल्यवृद्धि दर अहिलेसम्मकै उच्च भएको देखाएको थियो । तर नाकाबन्दी खुलेपछि मुल्यबृद्धि दर केही कम हुन थालेपनि अपेक्षकृत रुपमा कम हुन सकेको छैन । सरदरमा अझैपनि ११ प्रतिशतको मूल्यबृद्धिको सामना उपभोक्ताले गर्नुपरिरहेको छ । व्यवसायीहरु त चामल, दाल, तेल लगात दैनीक रुपमा बढी खपत हुने खाद्यबस्तुमा मूल्य अझै बढ्ने आकलन गरिरहेका छन् । यता, आपूर्ती व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभाग कृतिम अभाव र आफूखुसि महंगी गर्ने जो कसैलाई कारबाही गर्ने दाबी गरिरहेको छ ।