समाचार

शुल्क वृद्धिको विरोधमा नेविसंघको आन्दोलन

सुनसरी ।  सर्वोच्चको आदेशविपरीत निजी विद्यालय सञ्चालकले नयाँ शैक्षिक सत्रमा शुल्क वृद्धि र पुस्तकको व्यापार गरेको भन्दै सुनसरीमा नेपाल विद्यार्थी संघले विरोध गरेको छ ।

नेपाल विद्यार्थी संघ सुनसरीले पत्रकार सम्मेलन गरी विद्यालयहरूले मनोमानी ढंगबाट शुल्क वृद्धि गरेको तथा वर्षेनी पब्लिकेशन परिवर्नत गरी अभिभावकलाई दुःख दिने कार्य गरेको आरोप लगाएको हो । नेविसंघले ८ बुँदे माग पनि प्रस्तुत गरेको छ ।  
भर्नाका बेला अनुचित रूपमा लिइएको शुल्क फिर्ता गर्नुपर्ने, कमिसनको लोभमा पब्लिकेशन हाउस परिवर्तन रोक्नुपर्ने, भड्किलो प्रचारप्रसार गरी विद्यार्थी तान्ने प्रवृत्ति बन्द गर्नुपर्नेलगायतका माग अघि सारेको छ । संघले विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई आर्थिक बोझ र हैरानी दिने काम तत्काल बन्द नगरे कारबाहीमा उत्रिने चेतावनी पनि दिएको छ । केही दिनअघि सगरमाथा टेलिभिजनमा किताव खरिदमा कमिसनबारे समाचार प्रशारण भएपछि नेविसंघको ध्यानाकर्षण भएको हो ।