समाचार

हरेक शनिबार कार्यालय प्रमुखको दैनिकी

पाँचथर । पाँचथरका कार्यालय र सुरक्षा प्रमुखहरू प्रत्येक शनिवार बिहान ७ बजे हातमा पञ्जा र मुखमा माक्स लगाएर घरेलु औजारसहित बजार सरसफाइमा जुट्छन् । बिहानको समय करिब ३ घण्टा यो काममा जुटेपछि उनीहरू आ–आफ्ना बासस्थान फर्केर व्यक्तिगत सफाईमा लाग्छन् । 

पछिल्ला केही साता यता हरेक शनिबार पांचथर सदरमुकाम फिदिममा अनौठो दृश्य देखिन्छ । जिल्लाका सरकारी अड्डाका प्रमुखहरु हातमा घरेलु औजार लिएर सरसफाइमा जुटेका देखिन्छन् । उनीहरुलाई स्थानीय सर्वसाधारणले पनि साथ दिन्छन् । बजार सरसफाई गर्ने कामको नेतृत्व गरेका छन् प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइराला र फिदिम नगर पालिकाका कार्यकारी अधिकृत काजीमान राईले । जिल्लाका प्रहरी प्रमूख कोइराला प्रहरी टिम सहित पोशाकमै सरसफाईमा जुट्छन भने राई लगायतका कर्मचारी हाफ पाइन्ट र गमबुट लगाएर नाली सोहोर्न व्यस्त हुन्छन् । फिदिम नगरपालिकाको सहयोग तथा जिल्ला प्रहरी कार्यालयको अगुवाईमा शुरु भएको सरसफाई अभियान सातौं हप्तासम्म चलेको छ । 
सरसफाईमा फिदिमे युवाहरु आवद्व सहयोगी आँखा नामक सस्थाले समेत साथ दिइरहेको छ । यो अभियानमा प्रहरी प्रहरी कर्मचारी सँगै अधिकृत र जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमूखहरुको सहभागिता हुने गरेको छ । फिदिम बजारको हराभरा र सरसफाईमा टेवा पु¥याउन सफाई अभियान सुरुवात गरिएको प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाको भनाइ छ । 

बर्दी लगाएका प्रहरी र बिभिन्न ओहदाका कर्मचारीले नगर क्षेत्रको सरसफाई गरिरहँदा केही स्थानीय बासिन्दा भने रमिते बन्ने गरेका छन् ।  फिदिम बजारलाई नेपाल सरकारले समेत मध्य पहाडी लोकमार्गले छोएका प्रमूख दश शहरमा समाबेश गरी नयाँ शहर आयोजनामा लागु गरेको छ । यसर्थ बजारको बिकाससँगै सरसफाई पनि आवश्यक भएकाले टोल र छिमेक सफाईमा आर्फै सक्रिय हुन फिदिम नगरपालिकाका प्राविधिक सहायक हाङनारायण हाङसरुम्वाको सुझाव छ ।