समाचार

अमेरिकामा नेपाली उत्पादनको बजारिकरणमा महावाणिज्य दुतावास सक्रिय

गोकुल श्रेष्ठ, न्यूयोर्क । 
अमेरिकामा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धनका लागि न्यूयोर्कमा रहेको नेपाली महावाणिज्य दुतावासले सक्रियता देखाएको छ । 
शनिबार न्यूयोर्कको क्वीन्समा वृहत् अन्तरक्रिया कार्यक्रम गरी दुतावासले यस्तो जानकारी दिएको हो । “नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली समुदायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दुतवासले नेपाली उत्पादनको अवस्था, बजारिकरण र त्यसमा नेपाल सरकारले खेल्ने भूमिकाका बारेमा जानकारी गराईएको थियो । 
नेपाली महावाणिज्यदूतावासका कार्यवहाक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने भन्दै व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, अमेरिकी नागरिक, पर्यटक तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूंजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने धारणा राख्नुभयो । उहाँले नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसका लागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरसंगको सहकार्य आयोजना गरिएको कार्यक्रममा स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवद्र्धनमा सक्रिय अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीले प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरणमा नेपालको प्रवद्र्धनका लागि आ–आफ्ना तर्फबाट भइरहेका प्रयास, अवशर र चुनौती तथा नेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखि अन्य बस्तु निर्यात संजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको उनीहरुको धारणा थियो । 
कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डेले गैरआवासीय नेपालीको मातृभूमीसंग निकट र भावनात्मक सम्बन्ध रहेको भन्दै नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवद्र्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वाणिज्य दुत गणेश अधिकारीले सहभागिहरुले उठाएको सवालहरुको जवाफ दिंदै नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग सधै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनु भयो । 
नेपालबाट अमेरिकामा मुख्य रुपमा कार्पेट, पश्मिना, ऊनी सल, स्कार्फ, मफलर, चाँदीका गहना एवं सामाग्री, चित्रकला, हातले निर्माण गरिएका सामाग्रीहरु, घरेलु जनावरका लागि दाना, छुर्पी, पनीर, पास्ता, चिया, दाल र चाउचाउ आयात हुने गरेको छ ।