समाचार

तराईमा शितलहर जनजीवन कष्टपूर्ण बन्दै

काठमाडौं, ३ पुस । पश्चिमी वायूको बढ्दो प्रभावका कारण मौसममा बदली आउनु स्वाभाविक हो । तर केही दिनयता मौसम बदली संगै चिसो ह्वात्तै बढेकोे छ । अहिले दिनानुदिन तापक्रममा गिरावट आएसंगै बढेको चिसोका कारण अस्पतालमा पनि चीसोबाट लाग्ने रोगका विरामीहरुको संख्या पनि बढेको छ । 
उच्च हिमाली भेगबाट बहने चिसो हावाका साथै पश्चिमी वायूको सक्रिय प्रभावका कारण देशभर चिसो बढेको हो । उपत्यकाका साथै तराईमा समेत विहानमा न्युनतम तापक्रप र अधिकतम तापक्रम दुबै घट्ने क्रममा रहेकाले जाडो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली जिल्लामा हिमपात र तराईमा तुवालोका कारण अहिले आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । मौसविद्का अनुसार पानी नपरेपनि जाडो अझै बढ्ने अनुमान गरेका छन् । त्यस्तै, पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन् । बिहानका उडान अवरुद्ध हुँदा नेपालगन्ज–काठमाडौं आउजाउ गर्नेहरू समस्यामा पर्न थालेका छन् । 
बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालकहरू हेडलाइट बाल्न बाध्य छन् । नेपालगन्जस्थित हावापानी फिल्ड कार्यालयकी प्रमुख रीता महतोले नेपालगन्जको तापक्रम ६ दशमलव ८ मा झरेको बताइन् । आइतबार दिउँसो यहाँको तापक्रम १९ दशमलव ५ सेल्सियसमा झरेको छ । राति पनि शीतलहर चलेका कारण चिसो बढी हुने गरेको छ ।
‘शीतलहरका कारण तापक्रम घटेपछि चिसो बढी महसुस भएको हो । दिउँसो केहीबेर आकाश खुल्ने गरेकाले त्यति बेला तापक्रम बढ्छ,’ महतोले भनिन् । हवाई उडान हुन कम्तीमा २ हजार भिजिबिलिटी आवश्यक पर्छ । तर शीतलहर र कुहिरोले आकाश ढाक्दा बिहान उडान हुन नसकेको नेपालगन्जस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । नेपालगन्जबाट काठमाडौं र कर्णालीका लागि दैनिक दर्जनभन्दा बढी उडान हुने गरेका छन् । त्यस्तै पूर्वी तराईको अवस्था पनि कष्टकर बनेको छ । विहान शितलहर चल्न थालेपछि जाडो निकै बढेको छ ।