समाचार

मैना सुनुवार मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं, २१ कार्तिक । सर्वोच्च अदालतले ‘मैना सुनुवार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसलाको फाइल मगाएपछि सो मुद्दा पुनः उठेको छ । गत असोज २६ मा न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरी सरकारलाई समेत अदालतमा छलफलका लागि बोलाएको थियो । दुवै पक्षको सुनुवाइपछि न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ‘मैना सुनुवार प्रकरण’ सम्बन्धी मिसिल झिकाउने आदेश गरेको हो । 
सर्वोच्च अदातलका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले मैना सुनुवार मुद्दाको फाइल झिकाउनको लागि चिठी लेखेर पठाइएपछि उताबाट फाइल आएपछि मात्रै सो मुद्दाको पेशी तोकिने बताए । उनले उक्त प्रकृयामा धेरै समय नलाग्ने जानकारी दिए ।
२०७४ वैशाख ३ मा काभ्रे जिल्ला अदालतले अवकाश प्राप्त तीनजना सैनिक अधिकृतविरुद्ध सुनाएको जन्मकैद फैसला बदरको माग राख्दै नेपाली सेनाले भदौ १६ मा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । नेपाली सेनाका तर्फबाट कानुन विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

मैना हत्या प्रकरण 
२०६० फागुन ५ मा १५ वर्षिया मैनालाई काभ्रे पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका सैनिकले घरमै गएर पक्राउ गरेका थिए । त्यसपछि मैनाका आमाबाबुले उनको खोजी कार्य जारी राखेका थिए भने विभिन्न निकायमा निवेदन दिँदै उनको खोजी कार्य तीव्र बनाएका थिए । जनमानसमा व्यापक चर्चा र विरोधको स्वरुप ग्रहण गर्दै गएको सो काण्डबारे सेनाले २०६१ वैशाख ५ मा मैनाका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो । त्यसपछि मैनाकी आमाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा २०६२ मंसिर २१ मा चारै जनाविरुद्ध जोहरी दिएकी थिइन् ।