समाचार

२५ जिल्लामा १२ लाख गरिब ! कुन-कुन जिल्लामा ?

काठमाडाैं, २१ कार्तिक । सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको परिचयपत्र वितरण थालेको हो ।

मन्त्रालयले पहिलो चरणमा पीएमटी (प्रोक्सिमिन टेस्टिङ) को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारका १२ लाख २४ हजार ४ सय १७ जना गरिब भएको पहिचान गरेको थियो ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले पहिचान गरिएका १२ लाख २४ हजार गरिबमध्ये सबैभन्दा बढी गरिबको बसोवास रहेका गाउँपालिकाबाट गरिब परिचयपत्र वितरण गर्न थालिएको जानकारी दिए ।

सामान्यतः समाजले स्वीकार गरेको सम्पन्नता हासिल गर्न र जीवनका लागि आवश्यक न्यूनतम आधारभूत आवश्यकता (गाँस, बास र कपास) परिपूर्ति गर्न वा वित्तीय स्रोत जुटाउन नसक्ने अवस्थालाई गरिबी भनिन्छ ।

आजको अन्नपुर्ण पोष्टले यो खबर लेखेको छ,  गरिबी पहिचान गरिएका २५ जिल्लामा भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया छन् ।

यसैगरी, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, अछाम र कैलालीमा गरिब पहिचान भएका छन् ।

२५ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा १३ हजार ६ सय १९ घरपरिवार गरिबीको रेखामुनि छन् भने सबैभन्दा कम तनहुँमा ९ हजार २ सय ७५ परिवार गरिब छन् ।