समाचार

काठमाडौंमा खुल्यो विश्वकै ठूलो एभिएसन म्युजियम

काठमाडौं, १९ कार्तिक । राजधानीस्थित सिनामङ्मलमा विश्वकै ठूलो  एभिएसन म्युजियम खुलेको छ । दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरको एयरबस–३३० लाई उप्रेती ट्रष्टले एभिएसन म्युजियममा रुपान्तरण गरेको हो । 
काठमाडौंमा अवतरण गर्ने क्रममा २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा चक्का धसिई विमान ग्राउण्डेड भएको थियो ।  उक्त विमानलाई उप्रती ट्रस्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरेर संग्रहालय बनाएको हो । 
आइतबारबाट विद्यार्थीका लागि खुला गरिने उक्त संग्रहालय आगामी १० दिनपछि सम्पूर्णका लागि खुला गरिनेछ ।  यो एयरबसको लम्बाइ २ सय ८ फिट, पखेटाको लम्वाइ १ सय ९७ फिट र उचाइ ५६ फिट रहेको छ । आइतबारदेखि एक महिनासम्मका लागि विद्यार्थीहरुले रु १ सय २५ मै संग्रहालय अवलोकन गर्न पाउनेछन् ।  अवलोकनका लागि नेपाली नागरिकलाई रु ३ सय र विदेशीलाई रु ६ सय शुल्क तोकिएको छ ।  संग्रहालय बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला रहने छ ।