समाचार

चिसो बढ्यो, उत्तरी गोरखामा भारी हिमपात

काठमाडौं, १४ कार्तिक । उत्तरी गोरखाको सामागाउँ र साम्दोमा यसवर्ष कात्तिक दोस्रो साता नै हिमपात भएको छ। प्रायः मंसिरको अन्तिमतिर मात्र हिमपात सुरु हुने यी गाउँमा यसवर्ष करिब एक महिना अघि नै हिमपात भएको हो। यी दुै गाउँमा मंगलबार बिहानदेखि परेको पानीसँगै हिमपात भएको हो । तीन हजार मिटर उचाइभन्दा माथिका गाउँमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन्। चुमनुब्री गाउँपालिका १ सामागाउँका वडाध्यक्ष वीरबहादुर लामाले सामा र साम्दोमा हिउँ परेको जानकारी दिए।
हिउँ परेपछि बर्सेनि उत्तरी गोरखाबासी बेशी झर्छन्। आरुघाट, गोरखाबजार, काठमाडौं र पोखरामा हिउँद बिताएर उनीहरु पुनः लेक पस्ने गर्छन्। तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० गते हुने भएकाले यसवर्ष उत्तरी गोरखाबासी बेशी झर्न पाएका छैनन्।
हिमपात भएपछि आलु उत्पादनमा बृद्धि हुने भन्दै स्थानीय कृषक भने खुशी बनेका छन् । जिल्लाको सामागाउँ, ल्हो, प्रोक, बिही र सिर्दिवास गाउँमा हिउँदको समयमा अत्यधिक हिमपात हुन्छ ।