समाचार

कालो बजारी ऐन संशोधन गर्न व्यवसायीको माग

काठमाडौं, १३ कार्तिक । उद्योगी व्यवसायीहरुले कालो बजारी ऐन (२०३२) संशोधन गर्न माग गरेका छन्। नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटी ऐन संशोधन गर्न माग राखेको हो।  पुरानो ऐनले विद्यमान बजारको समस्यालाई सम्वोधन गर्न नसकेको भन्दै प्रतिनिधिमण्डलले ऐनलाई समयसापेक्ष रुपमा संशोधन गर्नुपर्ने बताएको थियो।

सिंहदरवारमा भएको भेटमा चेम्वरका अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यपारीहरुलाई दुःख दिने काम भएको बताए। अर्थ, वाणिज्य, आपूर्ति मन्त्रालयलगायत प्रहरी प्रशासनबाट बजार अनुगमन हुने गरेकाले संशोधित ऐनमा बजार अनुगमनका क्षेत्राधिकार स्पष्ट गर्नुपर्ने उनले माग गरे।

अध्यक्ष श्रेष्ठले पूर्व घोषित बाहेकका अपर्झट सार्वजनिक विदा दिंदा राष्ट्र बैंक अन्तर्गतका बैंक तथा वितीय क्षेत्रहरुका सेवालाई सुचारु गर्ने वन्दोवस्त मिलाउन मुख्य सचिवको ध्यानाकर्षण गराए।

भेटमा मुख्य सचिव रेग्मीले निजी क्षेत्रलाई विपक्षीको रुपमा लिएर सरकारको तर्फबाट दमनको काम आफ्नो कार्यकालमा कहिल्यै नहुने स्पष्ट पारे। सरकार र निजी क्षेत्रवीचको संयुक्त सहकार्यबाट मात्रै मुलुक समृद्ध हुने भएकाले दुवै पक्ष मिलेर अगाडि वढ्नुपर्ने उनको भनाइ थियो।

भेटमा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, सचिवहरु देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे, पर्शुराम दाहाललगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुसहभागी थिए।