काठमाडौं, ८ कार्तिक । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व मंगलबारदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्वको पहिलो दिन स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।
मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिंदै आएको छ । कात्तिक शुक्ल पञ्चमीका दिन निर्जल उपवास बसी बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमै सबी छठ मनाउँदै आउनुभएका सञ्जय गुप्ताले बताउनुभयो ।
“षष्ठीका दिन व्रतालुबाट ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पांग्रा अङ्कित चित्र बनाइन्छ” उहाँले भन्नुभयो । षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ नदी वा तलाउका किनारमा बसेर गीत गइने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारेर मनोरञ्जनका साथ त्यही रात बिताइन्छ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेबाटै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा ब्रतालुहरूले लगाएको लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको श्याम यादव बताउनुहुन्छ । “पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो ।
कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा एवं आराधना गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएकाले यो कुनै क्षेत्र विशेषको मात्र पर्व नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । “विशेषगरी तराई क्षेत्रका मानिसले मनाउने भएकाले यसलाई क्षेत्रीय पर्व भनिएको हुनसक्छ, तर यो सूर्यको उपासना गर्ने शास्त्रीय पर्व हो”, उहाँले भन्नुभयो । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ ।
यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो । पौराणिक कालमा छठीमाताले सूर्यदेवलाई खुशी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरि मत छ ।
सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले गरेको छठ व्रतको फलस्वरूप उनको अटल सौभाग्य र पतिबाट सदव्यवहार हुन थालेकाले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात् भएको अर्काथरिको भनाइ छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् मंगलबार अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ सम्पन्न हुने परम्परा छ । छठ पूजाका लागि आवश्यक पर्ने सामानलाई चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुठुनी, पानी फल, नरिबल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराइ आवश्यक पर्ने भएकाले अहिले सदरमुकाम राजविराजलगायत विभिन्न बजारमा समान किनमेलको काम बजारमा भइरहेको पाइएको छ ।
जिल्लाको कञ्चनपुर, भारदह, हनुमाननगर, कल्याणपुर, रुपनी, वीरेन्द्र बजार, विसनपुर, बोदेवरसाइन, कदमहालगायतका बजारमा छठपर्वका लागि सामान किनमेल गर्ने व्रतालु महिलाको चहलपहल बढेको छ ।
पूर्णरूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र अन्य सामग्रीले विशेष महत्व राख्दछ । यस्तै, छठपर्व मनाउनका लागि विभिन्न जलाशय सजाउने कार्यसमेत शुरु भइसकेको छ ।
राजविराज नगरपालिका–१ स्थित भगवती पोखरी, वडा नं ३ का कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कञ्चनपुर, भारदह, हनुमाननगर, जोगीनीया, सकरदही, रुपनी, कल्याणपुर र सप्तकोशी ब्यारेजसहित दर्जनौँ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी भइरहेको सकरदहीका प्रवेशकुमार यादवले बताउनुभयो ।
हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतको विहार र सुपोल जिल्लाबाट समेत श्रद्धालु यहाँ छठपर्व मनाउन आउने गरेको र अहिले कोशी ब्यारेजमा घाट बनाउने र सजाउने कामसमेत भइरहेको यादवले जानकारी दिनुभयो ।
शुरुमा तराइवासीले मात्र मनाउने यो पर्व हिजोमंगलबार अन्य जाति एवं राजधानीलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि सरकारले छठपर्वको अवसरमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।
निर्धनता र निःसन्तान हुनुबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि पाइन्छ ।
पर्वको पहिलो दिन चतुर्थीमा व्रतालु महिला एवं पुरुष नित्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात् नुहाएर खानु भनिन्छ । यो दिन नुहाइ, धुवाइ, चोखो भई व्रतालु महिला एवं पुरुषले लसुन, प्याज नहाली कालो नून प्रयोग गरी खाना खाने गर्छन् ।
यस्तै, दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् ।
खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादका रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।
पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका व्रतालु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्ने गर्छन् र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पूजा गरी छठ पर्व समाप्त हुन्छ ।
छठका लागि केराको किनवेचमा वृद्धि
मंगलबारदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ ।
छठमा हरेकले केराको घरी किन्ने भएकाले व्यापारमा वृद्धि भएको केरा व्यापारी शिवचरण मण्डलले बताउनुभयो । बजारमा केरा किन्नेको भीड लागेको छ । प्रति केरा घरी रु दुई सयदेखि रु ५०० सम्ममा बिक्री भइरहेको छ । सप्तरीमा छठमा करिब रु एक करोडको केरा बिक्रीवितरण हुने गरेको व्यापारीको भनाइ छ ।
छठका लागि बजारमा चहलपहल
मंगलबारदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ ।
छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ ।
छठमा हरेकले केराको घरी किन्ने भएकाले व्यापारमा वृद्धि भएको केरा व्यापारी शिवचरण मण्डलले बताउनुभयो । बजारमा केरा किन्नेको भीड लागेको छ । प्रति केरा घरी रु दुई सयदेखि रु ५०० सम्ममा बिक्री भइरहेको छ । सप्तरीमा छठमा करिब रु एक करोडको केरा बिक्रीवितरण हुने गरेको व्यापारीको भनाइ छ ।
Comments