समाचार

डडेल्धुरमा म्यादी प्रहरीमा ९ सय बढीको दरखास्त

डडेल्धुरा, ३१ असोज । अगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन शान्त र भयरहित बनाउन खोलिएको म्यादी प्रहरी भर्नाका लागि डडेल्धुरामा ९ सय बढीले दरखास्त फाराम भरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भनेर आह्वान गरिएको म्यादि प्रहरीको भर्नामा जिल्लाबाट ९ सय ४७ जनाले आवेदन दिएका हुन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा ८ सय १८ जना पुरुष र १ सय २९ जना महिलाले आवेदन दर्ता गराएका छन् । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी भर्नाका लागि यही असोज २४ गतेदेखी ३० गतेसम्म आवेदन दिने समयसीमा तोकिएको थियो । म्यादी प्रहरीको आवेदन दिनेमा युवा बढी रहेका छन् । देशमा रोजगारीको समस्या र पढे लेखेको भएपनि जागीर पाउन समस्या भएका कारण आफुहरु म्यादी प्रहरीमा भर्ना हुन आएको यूवाहरुको भनाई छ ।स्थानीय तहको निर्वाचनका बेला जिल्लामा १३ सय बढीले दरखास्त दिएकोमा यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी भने ९ सय ४७ जनाले दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनुभयो ।    पूर्व नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पुर्व म्यादी र सर्वसाधारहरुले आवेदन दिएको प्रहरी नायव उपरिक्षक जोशीले बताउनुभयो  । 
आवेदन परेका मध्यबाट यही कार्तिक ५ गते देखी १० गते सम्म प्रारम्भिक छनौट गरिने जनाईएको छ । डडेल्धुरामा प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा ४० हजार १ सय ५६ पुरुष र ४१ हजार पाँच सय ७६ जना महिला गरी जम्मा ८१ हजार ७ सय ३२ जना मतदाता छन् ।