समाचार

यमपञ्चक शुरु, आज पहिलो दिन कागको पूजा

काठमाडौं, ३१ असोज । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यमपञ्चको पहिलो दिन आज बिहान कागलाई विभिन्न परिकार खान दिएर मुलुकभर कागतिहार मनाइँदै छ । शुभ र अशुभ दुवै प्रकारको सन्देश दिने कागका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन पूजा गर्ने परम्परा रहेको छ । यमपञ्चकको पहिलो दिन कागतिहार पर्छ । दोस्रो दिन भैरवको वाहनका रूपमा कुकुरको पूजा गरिन्छ । त्यस्तै औंशीका दिन बिहान गाईको पूजा गरेर साँझ परेपछि दीपावलीका साथ लक्ष्मीको पूजा आराधना गरिन्छ ।
तिहारको चौथो दिन कात्तिक शुक्ल प्रतिपदामा गोवर्धन पूजा पूजा गरिन्छ । नेवार समुदायले यस दिनमा म्हः पूजा भनी सगुन लिई आफ्नै शरीरको पूजा गर्ने प्रचलन रहेको छ । पाँचौं दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायूको कामना गरी भाइटीका लगाउने प्रचलन रहेको छ । कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने किंबदन्तीका अनुसार यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।