काठमाडौँ, २७ असोज । गैरआवासीय नेपाली संघको शनिबारदेखि शुरु हुने महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारहरुले आफ्नो उम्मेदावरी घोषणा गरेका छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले र वर्तमान उपाध्यक्ष भवन भट्टले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ९ जनाले उम्मेदवारीको घोषणा गरेका छन् । महाधिवेशनले २ खुल्ला र १ महिला गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ । उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका एन आर एन युरोप संयोजक कूल आचार्य बलिया प्रतिस्पर्धी हुन् ।
सन् २००६–८ मा साधारण सदस्य, २००८–०९ मा एनआरएन युकेको कार्यसमितिको सदस्य, सन् २००९–११ मा उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक भएर आचार्यले काम गरिसकेका छन । एन आर एनलाई हस्तक्षेप मुक्त बनाउने अभियानमा लागेका आचार्यले उम्मेदवारीसँगै केही गहकिला प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन । आचार्यले आफ्नो घोषणसंगै ७ बुँद्धे प्रतिवद्धता जनाएका छन् ।
उनले एनसिसिहरुलाई अरु बढी कृयाशील र सुदृढ तुल्याउने, बैदेशिक रोजगार, कल्याणकारी तथा मानवीय सहयोग, क्षमता, सीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउने लगायतका प्रतिवद्धता जनाएका छन् ।
सन् २०१२ मा आफूहरुले इन्टा युके तथा सहारा युकेसंगको सहकार्यमा नेपालका पहिलो ओलम्पियन भूपेन्द्र सिलवाललाई बेलायत आमन्त्रण गरी लण्डन ओलिम्पिक्स हेर्ने व्यवस्था मिलाएको र उहाँको भ्रमणले नेपालका खेलाडीहरुको मनोबल बढाउन मदत पुगेको आचार्यले जनाएका छन ।
त्यस्तै नेपाल पत्रकार महासंघ युके शाखासंगको सहकार्यमा पत्रकार कल्याण कोषको स्थापना होस् वा नेप्लीज नर्सिङ एसोसियसन युकेसंगको सहकार्यमा विकट जुम्ला जिल्लामा सुत्केरी सेवा उपलब्ध गराउन बर्दिङ सेन्टर स्थापना गर्ने अभियान, सबै युकेवासी नेपालीहरुको दरिलो सहयोग र प्रोत्साहनबाट मात्र संभव भएको आचार्यले जनाएका छन ।
सन् २०१५, १७ मा संघको युरोप क्षेत्रीय संयोजकका रुपमा कार्यरत रहँदा २७ वटा राष्ट्रिय समन्वय परिषदहरु रहेको युरोपस्थित एनआरएनको विशाल सन्जाललाई क्रियाशील बनाउनुका साथै नेपालमा भूकम्प आउँदा होस् वा बाढीको प्रकोप आउँदा हामीले अग्रपंक्तिमा रहेर काम गरेको आचार्यको भनाई छ ।
त्यस्तै गोर्खाको लाप्राकमा भूकम्प पीडितहरुकालागि निर्माणाधीन नमुना वस्ती तथा एनआरएनको आफ्नै भवन बनाउने अभियानमा युरोपबाट सहयोग जुटाउन पनि आफूले महत्वपूर्ण भूमिका खेलेको उनले बताएका छन । बागमती नदीको छेउमा शंखमूलमा निर्माणाधीन एनआरएन पार्ककालागि पनि आफूहरुले सहयोग जुटाएका आचार्यले प्रतिबद्धातामा उल्लेख गरेका छन ।
आइसिसिको लगानी तथा व्यापार प्रबर्द्धन टास्कफोर्सको संयोजकको रुपमा विशेषगरी युरोप क्षेत्रबाट नेपालमा विभिन्न परियोजनाहरुमा लगानी गर्ने कामहरु भएको छ भने नेपालमा उत्पादित सामानहरुलाई युरोप लगायत विभिन्न विश्वबजारमा पुराउने पहल पनि भैरहेको उनले बताए ।
आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘एनआरएनमा आफ्नो व्यक्तिगत भन्दा पनि संस्थागत एजेण्डालाई नै प्राथमिकता दिने प्रचलन रहेकाले यहाँ व्यक्तिगत हारजीत गौण हुनजान्छ । तथापि आजसम्म तपाईंहरुबाट प्राप्त स्नेह र एनआरएन अभियानमा मैले हासिल गरेको अनुभवको आधारमा हजुर मित्रहरुसँग सरसल्लाह गरी संघको केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । तपाईंहरुको सहयोगबाट उक्त पदमा निर्वा्चित भएमा आउँदो दुई वर्षे कार्यकालमा माथि उल्लेखित वाचा गर्न चाहन्छु ।’
Comments