समाचार

दशैं धुमधामसाथ मनाइँयो, पूर्णिमासम्म टीका लगाउने प्रचलन

काठमाडौं, १५ भदौ । यस वर्षको  बडादशैं नेपालीहरुले धुमधामसाथ मनाएका छन् । बडादशैंको टीका लगाउने साइत असोज १४ गते ११ः५५ बजेबाट शुरुभएको हो । मान्यजनको हातबाट दशैंको दिन टीका र जमरा लगाएपनि टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ । दशैंको दोस्रो दिन आइतबार पनि टिका लगाउने क्रम जारी छ । 
पश्चिमी क्षेत्रहरुमा भने एक दिन दशमीका दिन मात्र टीका लगाउने गरिन्छ । तर पछिल्ला केही वर्षदेखि भने पश्चिमी भेकमा पनि टीकाको समय लम्बिन थालेको छ । नवरात्रमा भवानी नवदुर्गाको आराधना गरिएको प्रसाद टीका जमरा मान्यजनको हातबाट लगाउने क्रम पूर्णिमासम्मै लगाउन मिल्ने उल्लेख गरिएको छ । घरका र नजिक भएका मान्यजनसँग विजयादशमीका दिन टीका लगाउने र भोलिपल्टदेखि टाढा रहेका आफन्तकहाँ जाने चलन यातायातका साधन चल्न थालेपछि सहज भएको हो । 
तर भ्याएसम्म दशमीकै दिन टीका लगाउनुपर्छ भन्ने मान्यता छ। सरकारले बडादशैंका लागि सप्तमीदेखि द्धादशीसम्मका लागि सार्वजनिक बिदा दिएको छ । यो समयलाई कसैले बढाउनुपर्छ भनिरहेका छन् भने टीका नलगाउनेहरुले घटाउनुपर्ने आवाज उठाइरहेका छन् । विद्यालयहरु भने कम्तिमा पूर्णिमासम्मै बिदा हुने गरेको छ ।