समाचार

दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा आरधना

काठमाडौं, १० असोज । हिन्दु नेपालीहरुको महान चाड दशैँको छैटौं दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको कात्यायनी  भगवतीको पूजाआजा गरिंदैछ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ । यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठाैं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ ।
दशैँको छैटौं दिन आज पनि देशभरिका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैबाट भक्तजनहरुको भीड लागेको छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । 
त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भिड लागेको छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको भिड लागेको छ ।