समाचार

१२ लाखले काठमाडौँ छाडे, दैनिक दुई लाख बाहिरिँदै

काठमाडौं, १० असोज ।  वडा दशै तथा दिपावलीका लागि काठमाडौंबाट मानिसहरु आ–आफ्ना गृह जिल्लामा जान थालेका छन् । अहिले दैनिक २ लाखका दरले यात्रुहरु काठमाडौंबाट बाहिरिने गरेका छन् । मंगलबारदेखि निरन्तर तीन दिनभित्र मात्रै (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त बनेका छन् । 
यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने ‘पिक आवर’ सुरु हुँदै छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । 
बिहीबारसम्म सबै यात्रुको यात्रा सफल बनाउन सकेको खण्डमा यो वर्षको दसैँ सफल भएको मानिने व्यवसायीको भनाइ छ । ‘त्यसका लागि यात्रुबसको व्यवस्थापनमा खटिरहेका छौँ,’ सिटौलाले भने । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये ११ लाख गन्तव्य मा पुगिसकेको र करिब १ लाख मानिस यात्रारत रहेको महासंघले जानकारी दिएको छ ।
यात्रुबाहक बस तथा अन्य सवारीसाधन बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म गन्तव्यतर्फ लागिरहेका छन् । ग्रामीण क्षेत्रतर्फ गएका सवारीसाधन भने सडकको दुरावस्थाको कारण समयमा फर्कन नसक्दा ढिला भइरहेको यातायात व्यवसायीले जानकारी दिएका छन् । राजमार्गमा भने तुलनात्मक रूपमा यात्रा सहज रहेको छ ।

यो वर्ष देशभरका अधिकांश ग्रामीण भेगमा सडकको दुरावस्थाको कारण यात्रुलाई सास्ती भइरहेको छ । कतिपय स्थानीय सडक गाडी गुडाउनसमेत कठिन हुँदा दसैँ, तिहार तथा छठलगायतका चाड मनाउन घर हिँडेकालाई समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको विभिन्न गन्तव्यमा यात्रारत र घर पुगेका यात्रुको गुनासो छ । यातायात व्यवसायीले पनि मुख्य राजमार्ग छोडेर स्थानीय सडकलाई छुनेबित्तिकै सडक समस्या बनेको बताएका छन् । ‘यसको कारण लामो दूरीका सवारीसाधन गन्तव्यसम्म पुग्न समस्या परिरहेको छ भने फर्केर आउन पनि ढिलाइ भइरहेको छ,’ महासंघका महासचिव सिटौलाले भने । समयमा बस छुट्ने वा गन्तव्यमा नपुग्दा वृद्धा, बालबालिका, सुत्केरी, बिरामीलगायतका यात्रुको बिचल्ली हुने गरेको छ ।
यो वर्ष भाडा तिरेरै अधिकतम् २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि पाँचदेखि सात लाख मानिस उपत्यकाबाट बाहिरिने निश्चितजस्तै भएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । तर, चाडपर्वमा बाहिरिने यात्रुको अध्ययनमा आधारित यकिन तथ्यांक विभाग र यातायात व्यवसायी दुवैसँग छैन । बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिङ नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नेछन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङल्हामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिङ–नारायणघाट खण्डमा चाडपर्वको वेला खाल्डा पुर्ने काम गरिएको छ । यो वर्ष अरनिको राजमार्ग भने अन्यको तुलनामा व्यवस्थित छैन । भारतीय सहयोगमा सडक स्तरोन्नतिको काम भइरहेकाले रोकिँदै जानुपर्दा समयमै नपुग्ने समस्या रहेको अरनिको राजमार्ग बस सञ्चालन गरिरहेका रमेश बस्नेतले जानकारी दिए ।