समाचार

डा. केसीको पुनः आजबाट अनसन

काठमाडौं, ९ असोज । संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले त्रिवि शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा. गोविन्द केसी आजदेखि १२ औं अनसन बस्ने भएका छन्।
माफियामुखी ऐनलाई तत्काल रोकेर सही रूपमा चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न आज बिहान ११ बजेदेखि सत्याग्रह सुरू गर्ने डा. केसीले बताए। ‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामी लामो अभियानमा भएको तथा सरकारले बारम्बार सम्झौता उल्लंघन गरेर सीमित व्यवसायी र माफियाहरूको स्वार्थमा काम गरिरहेको कुरा बिदितै छ। यस क्रममा अहिले जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा ऐन जारी गर्न प्रयास भइरहेको पुष्टी भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ यो अवस्थामा स्वास्थ्य क्षेत्रमा दीर्घकालिन हानी पुग्ने गरी ऐन आउनबाट रोक्न आवश्यक भएकाले आजै दिनको ११ बजेदेखि सत्याग्रह कार्यक्रम सुरू गर्ने घोषणा गर्दछौ।’
देशभरका ओपीडी सेवा बन्द 
स्वास्थ्य तथा स्वाास्थ्यकर्मीको सुरक्षा गर्न बनेको ऐन २०६६ मा चिकित्सकमाथि आक्रमण घेराउ र अपमान गर्नेमाथि विनाधरौटी जेलचलान (जेल विदआउट वेल) को प्रावधान समेट्दै तत्काल पेस गर्नुपर्ने माग चिकित्सकहरुले आइतबार पनि देशभरका सरकारी, निजी तथा क्लिनिकका ओपिडी सेवा बन्द गरेका छन् । 
नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबारदेखि हड्ताव सुरु भएको थियो । आन्दोलनमा उत्रिएका चिकित्सकहले तत्काल कानुन संशोधन प्रक्रिया सुरु नभए हड्ताल नरोक्ने अडान राखेका छन् ।