समाचार

दशैंका लागि २७ गतेदेखि अग्रिम टिकट बुकिङ

काठमाडौं, २५ भदौ । नेपालीहरुको महान चाड बडा दशैंमा घर जाने यात्रुको सहजताका लागि भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न ब्यवसायीहरु सहमत भएका छन् । सरकारले भदौ २२ गतेदेखि नै अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरे पनि यातायात ब्यवसायीले आफूहरुको माग पूरा नभएसम्म बुकिङ खुल्ला नगर्ने भन्दै आनाकानी गरिरहेका थिए । 
यातायात ब्यवस्था विभागमा महानिर्देशकसहित यातायात ब्यवसायी महासंघका प्रतिनिधिबीच भएको वार्तामा ब्यवसायीको माग पूरा गर्ने सहमतिपछि २७ गतेदेखि बुकिङ खुला गरिने भएको हो ।  नेपाल राष्ट्रिय ब्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुहरुको सहजताका लागि यात्रुहरुको लगेज तथा सर–सामान गाडीको छत राख्न दिने, सरकार र यातायात ब्यवसायीको तर्फबाट अनुगमन गर्ने तथा भाडादर समायोजन गर्ने सहमति भएको हो । 
यात्रुकै हितका लागि आफूहरुले सडकको खाल्डाखुल्डी पुर्नुपर्ने, यात्रुको झिटीगुण्टा राख्न दिनुपर्ने माग जायज भएको कुरा मन्त्रीले समेत स्वीकार गरेको सिटौलाले बताए । सरकारसँग सहकार्य गरेर काम सेवा दिन आफूहरु तयार रहेको र छतमा यात्रु चढाउनेलाई कारबाही गर्नुपर्नेमा आफूहरु पनि सहमत रहेको उनले बताए ।
यसअघि यातायात ब्यवस्था विभागले २२ गतेदेखि नै टिकट बुकिङ खुल्ला नगर्नेलाई समितिलाई कारबाही गर्ने चेतावनी दिएको थियो । तर ब्यवसायीले नमानेपछि विभागले शनिवार ब्यवसायीलाई वार्तामा बोलाएको थियो ।