समाचार

नुवाकोटमा बस दुर्घटना, ७ जनाको मृत्यु

नुवाकोट, २५ भदौ । काठमाडौबाट नुवाकोटको खरानीटार आउदै गरको बस दुर्घटना हुदाँ सात जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २९ जनाको काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौबाट बिहान साढे ९ बजे खरानीटारको लागी छुटेको बा. १ ख ६३४८ नम्बरको यात्रुबाहक बस शिवपुरी गाउपालिका वडा नम्बर ७ सुनखानीको ठानाभञ्याङमा दुर्घटना हुँदा विदुर नगरपालिका वडा नं. ९ का २१ वर्षका शशी बोगटी, तादी गाँउपालिका वडा नं ५ नर्जामण्डपका ४५ वर्षका लक्ष्मी न्यौपाने र ६७ वर्षका ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएर उपचारको क्रमा गाडीका सहचालक तादी गाँउपालिका वडा नं. २ सातबिसेका २८ वर्षका नवराज विश्वकर्मा, ५४ वर्षका लालबहादुर तामाङ, ३७ वर्षका उजेली मिजार र २२ वर्षका सबिना तामाङको हिजो साँझ काठमाडौमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।   
दुर्घटनामा घाइते भएका २९ जनाको काठमाडौको ग्रिनसिटी, ग्राण्डी, विपीस्मृती चिरायु लगायतको अस्पतालमा उपचार भइरहेको छ । नुवाकोटको ठानाभञ्याङ स्थित लो–टोल स्थित घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको बस सडकबाट ३ सय ५० मिटर तल पुगेको थियो । बस दुर्घटनाबाट स्थानीय सिता तामाङको दुईतले घर पूर्ण रुपमा क्षति हुदाँ उहाँ समेत घाइते भएर उपचारको लागी काठमाडौमा ल्याइएको छ । बस दुर्घटनाको कारण पुरानो गाडीमा क्षमता बढी यात्रु यात्रारत रहदाँ घुम्तीमा काट्न नसकेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।