म्याग्दी, १८ भदौ । म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँको चारवटा घरमा शनिबार राति लुटपाट भएको छ । नक्कली प्रहरी बनेर गएका लुटेराहरुले स्थानीय विष्णुकला शर्मा, निलकण्ठ शर्मा, कृष्ण कार्की र सीता कार्कीको घरमा लुटपाट गरेका हुन् ।
हुट, जिन्सको पाइन्ट, छातेटोपी, जुत्ता, र ओटी माक्स लगाएका तथा झोला भिरेका ३ जनाको समूहमा बाँडिएर चार घरमा पालो गरेर लुटपाट गरेको पीडितले जानकारी दिएका छन् । सीता कार्कीको घरबाट चारतोला सुन, रुपा कार्कीको साथबाट २५÷२५ लालको दुईवटा रिङ, विष्णुकला र उनको छोरी सन्तु शर्माको साथबाट एकएक तोला सुन लगेका छन् । यसैगरी निलकण्ठ शर्माको साथबाट नगद १ हजार तीनसय रुपैयाँसहित आधा तोलाको औंठी खोसेर लगेका छन् ।
हामी प्रहरी हौं, हाम्रो १८ जनाको टोली आएको छ यस गाउँमा सबैले गाँजा र चरेस खान्छन् रे भन्ने थाहा पाएर हामी आएको भन्दै लुटपाट शुरु गरेको पीडितको भनाइ छ । प्रहरीले लुटेराको खोजी जारी राखेको छ ।
Comments