काठमाडौं, १५ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बक्यौता विद्युत महशुल नतिर्ने जो कोहीलाई कार्वाही गर्ने चेतावनी दिनु भएको छ । मन्त्री शाहीले १० दिन भित्र बक्यौता विद्युत महशुल नतिर्नेहरुको विद्युत सेवा बन्द गर्न मातहतका निकायलाई सचेत गराइएको पनि स्पष्ट पार्नुभयो ।
काठमाडौंमा भएको साक्षात्कारका क्रममा उहाँले बक्यौता विद्युत महशुल नतिर्नेहरुले कर्मचारीलाई अटेर गरे आफै विद्युत सेवा बन्द गर्न फिल्डमा जाने घोषणा पनि गर्नु भयो । उर्जा मन्त्रालयले बक्यौता रकम नतिर्नेहरुको सेवा बन्द गर्ने निर्णय यस अघि नै गरिसकेको छ । मन्त्री शाहीले आफू बक्यौता विद्युत महशुल असुल गर्न लागि परेको पनि उल्लेख गर्नुभयो ।
मन्त्री शाहीले सरकारले विद्युत प्रशारण लाईनको क्षमता वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्मरण गराउनुभयो । उहाँले विद्युत प्रशारण लाईनको क्षमता कमजोर भएकै कारण कतिपय ठाउँमा मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै त्यसको क्षमता वृद्धि गर्ने काममा सरकार केन्द्रित हुनुपरेको पनि बताउनु भयो । मन्त्री शाहीले विद्युत चुहावट नियन्त्रण गर्न पनि आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।
Comments