समाचार

दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड !

काठमाडौं, १३ भदौ । बाढी-पहिरोपीडितलाई सरकारी राहत प्रदानमा ढिलाइ भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड रुपैयाँ जम्मा भएको छ।  बाढी, पहिरो र डुवानको दुई साता बितिसक्दा पनि राहत कोषमा इतिहासमै सबैभन्दा कम रकम जम्मा भएको हो। राहतका लागि करोडौं रुपैयाँ घोषणा गर्नेले पनि घोषणाअनुसार रकम राहत कोषमा भने जम्मा गरेका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका उपसचिव लोकबहादुर कार्कीका अनुसार हालसम्म कोषमा तीन करोड ६२ लाख ७६ हजार नौ सय रुपैयाँ मात्रै जम्मा भएको छ।अाजकाे अन्नपुर्णमा खबर छापिएकाे छ।
‘घोषणा गरेकाले पनि उद्धार कोषमा रकम जम्मा नगरिदिँदा कोषमा रकम बढ्न सकेको छैन’, उपसचिव कार्कीले सोमबार अन्नपूर्णसँग भने। २७ साउनदेखि तराईलगायत मुलुकका विभिन्न ३३ जिल्लामा आएको बाढी, पहिरो र डुवानका कारण अर्बौ क्षति भएको छ भने हालसम्म १ सय ५९ जनाको मृत्यु भएको छ। यसैगरी, २८ जना बेपत्ता छन् भने ४५ जना घाइते छन्।
विपद्बाट ४३ हजार ४ सय ३३ वटा घर पूर्णरूपमा क्षति भएका छन् भने १ लाख ५८ हजार १ सय ९७ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ। क्षतिको विवरण आउने क्रम जारी छ।