समाचार

नेपाल उपविजेतामै सीमित, भारत विजयी

काठमाडौं, १२ भदाै । राजधानीमा सम्पन्न यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाल फेरि पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । नेपाली टोलीका प्रशिक्षक सुनील कुमार श्रेष्ठले गोलको अवसर गुमाउँदा र डिफेन्स कमजोर भएपछि पराजित हुन पुगेको प्रतिक्रिया दिएका छन् । 

ललितपुरस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको फाइनलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएपछि च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । प्रतिस्पर्धात्मक खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको थियो ।

खेलपछि बोल्दै श्रेष्ठले नेपालले निकै राम्रो प्रदर्शन गरे पनि पाएको मौका र डिफेन्सकै कारण पराजित भएको बताए । उनले भने, “केटाहरुले राम्रो खेले, म खुशी छु, मुख्य कुरा हामीले पाएको मौकामा गोल गर्न सकेनौँ र दोस्रो हाफमा डिफेन्स कमजोर भयो ।”

ब्रिजेश चौधरीले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । भारतका डिफेन्डर मोईराङथिम थोबिया सिंहले नेपालका रन्जन पुनलाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसअघि पहिलो हाफको दोस्रो मिनेटमा रन्दिप पौडेल तथा सातौं र २४ औं मिनेटमा दर्शन गुरुङको प्रहार पोष्टबाट बाहिरिएको थियो । 

पहिलो हाफमा १–० ले पछि परेपनि भारत दोस्रो हाफमा खेलमा फर्किएको थियो । दोस्रो हाफमा प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका भारतका कप्तान विक्रम प्रताप सिंह र सब्सिच्युड खेलाडी लालरोकिमाले समान एक एक गोल गर्दै टोलीलाई उपाधि दिलाएका थिए । 

दुबैले नेपाली डिफेन्सलाई चिर्दै उत्कृष्ट गोल गरेका थिए । जसको कारण नेपाल पुन फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाल समूह चरणको खेलमा पनि भारतसँग २ – १ ले नै पराजित भएको थियो ।