काठमाडौं, ९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय व्यावसायिक संस्था एसोचेमद्वारा संयुक्त रूपमा आयोजित नेपाल–भारत व्यावसायिक फोरम बैठकलाई सम्बोधन गर्दै राणाले उनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यमा दुवै देशका सरकारी तथा निजीक्षेत्रका उच्च व्यक्तित्व, लगानीकर्ता, उद्यमी व्यवसायी सहभागी थिए । उक्त बैठकमा महासंघ अध्यक्ष राणाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेकी हुन् । अध्यक्ष राणाले नेपालमा सञ्चालित भारतीय संयुक्त लगानीका कम्पनीले निकै धेरै नाफा कमाइ रहेको उदाहरण दिएको महासंघले जनाएको छ ।
नेपालका लागि यतिखेर बाह्य लगानी तथा प्रविधिको अत्यन्त खाँचो रहेकाले यो समय लगानीका लागि निकै उपयुक्त रहेको अध्यक्ष राणाले स्पष्ट पारिन् । नेपाल सरकारले सबै प्रकारका लगानीमा उपयुक्त वातावरण बनाउँदै गएको उनको भनाइ छ ।
Comments