समाचार

हरितालिका तीज, देशभरका शिवालयमा भीड

काठमाडाैं, ८ भदाै । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले पार्वतीलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । 
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मान्यता रहेको छ । अविवाहिता नारीले सुयोग्य बर पाउन र विवाहिता नारीले आफ्नो पतिको दीर्घायूको कामना गरी हरितालिका तीजको ब्रत बस्ने गर्छन् ।  सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकी हुँदा आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । तीजका अवसरमा विहानैदेखि काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुँइचो लागेको छ । 
तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकिृति र नरकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताएनुभएको छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले  तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।