समाचार

बाढी पीडितका लागि माओवादी केन्द्रको ३५ लाख सहयोग

काठमाडौं, ७ भदौ । नेकपा (माओवादी केन्द्र) ले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषका लागि ३४ लाख ९९ हजार २६० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ । बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 
बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने पनि हस्तान्तरण कार्यक्रममा उपनेता रायमाझीले बताए । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको अलग्गै दिने भएकाले यसमा नजोडिएको प्रमूख सचेतक रेखा शर्माले जानकारी दिए ।
यसअघि नेकपा एमालेले सांसदको तलब र पार्टीको सहयोगस्वरुप लगभग १ करोड रुपैयाँ बाढीपीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराएको थियो ।