बलराम प्यासी
काठमाडौ, २ भदौ । एसओएस वालग्राम नेपालले गत हप्तादेखि आएको बाढीपहिरोका कारण आफ्ना बाबुआमा दुवैजना गुमाएका बालबालिकालाई संरक्षण गर्ने जनाएको छ । मुलुकका पहाडी जिल्ला इलाम र तराईका बाँके, वर्दिया, सुनसरी, मोरंग, इटहरी, बारा, पर्सा, रौतहट, सिराहा, सलार्ही महोत्तरी सहित ३० जिल्ला यतिखेर बाढीपहिरोको चपेटामा परेको छ ।
एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरी प्रसाद शर्माले एसओएस वालग्राम भएका जिल्लाका सबै वालग्रामहरुलाई बाढीपहिरोका कारण बाबुआमा गुमाएका या अन्य प्राकृतिक प्रकोपका कारण बाबुआमा गुमाएको जहाँका केटाकेटी भएपनि उनीहरुलाई पनि सम्वन्धित जिल्ला वालक्लयाण समितिको सिफारिसका आधारमा तत्कालैदेखि संरक्षणमा लिनका लागि निर्देशन जारी गरिएको बताए ।
नेपालमा बाबुआमा गुमाएका केटाकेटीको संरक्षण, उचित लालनपालन, रेखदेख, स्याहार र उनीहरुलाई गुणस्तरीय शिक्षा दिँदै आएको अन्तर्राष्ट्रिय संस्था एसओएस वालग्राम नेपालले गतहप्तादेखि आएको बाढी पहिरोमा परि प्रभावित भएका ३० जिल्लाका त्यस्ता वालवालिकाको लगत संकलन गरिराखेको पनि जनाएको छ । नेपालमा सो संस्थाले विगत ४४ वर्षदेखि वालवालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।
विहीबारसम्म इटहरी ४ का दुईजना वालवालिकाले मात्रै बाढीमा आफ्ना जन्मदिने बाबुआमा गुमाएको पाइएको र ती दिदीभाईलाई एसओएस वालग्राम इटहरीले शुक्रबारदेखि संरक्षणमा लिने पनि राष्ट्रिय निर्देशक शर्माले बताए ।
मुलुकका सानोठिमी, जोरपाटी, काभ्रे, रामबजार पोखरा र छोरेपाटन, चितवन, इटहरी, भरतपुर, लुम्विीनि, सुर्खेत र धनगढीमा गरि १० वटा यस्ता वालग्राम रहेको र ती वालग्राममा रहेका घरहरुमा त्यस्ता वालवालिकालाई कुनैपनि समय संरक्षणमा लिन सकिने पनि राष्ट्रिय निर्देशक शर्माले बताए ।
पीडित वालवालिकाको बाबुआमा दुवै नभएको हुनुपर्ने वालग्रामको नियम अनुसार वालग्रामले मुलुकभरी जहाँका भएपनि त्यस्ता वालवालिकालाई लिनसक्नेछ । बाढीपहिरोपीडित त्यस्ता वालवालिकालाई तत्कालदेखि नै संरक्षणमा लिनसक्ने अधिकार एसओएस वालग्रामलाई महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय वालकल्याण समितिले दिएको हुनाले वालग्रामले त्यस्ता केटाकेटीलाई लिएर संरक्षणमा लिनसक्ने बाटो खुलेको हो ।
यसका साथै बाढीको चपेटामा परी सुनसरी, मोरंग र वर्दियामा आफ्नो चल तथा अचल सम्पत्ति गुमाएका परिवारहरुको सर्वेक्षण गरि उनीहरुलाई वालग्रामको तर्फबाट दीर्घकालिनरुपमा आयआर्जनका केही काम गर्न सकिन्छ की भनेर एसओएस वालग्राम नेपालले छलफल चलाइराखेको पनि राष्ट्रिय निर्देशक शर्माले बताए ।
बाढीपहिरोका कारण इटहरी र मोरंगका गाउँका ६०० वालवालिकाको विद्यालय पोशाक, कितावकापी बाढीले बगाएकोप्रति दुःख व्यक्त गर्दै त्यसको सट्टाभर्नाको लागि एसओएस वालग्राम नेपालले पहल गरिराखेको पनि शर्माले बताए ।
Comments