समाचार

प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा, ज्यान गुमाउनेको संख्या १०० नाघ्याे

३१ साउन, काठमाडौं । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी  १ सय भन्दा बढी जनाको ज्यान गएको छ । गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् । २ हजार ८४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।

=========================================================================================

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले तराईका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै बाढीबाट विस्थापितहरुको राहतमा ध्यान दिने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा,  उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, मोरङ, सुनसरी र झापा जिल्लाका बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीय प्रशासनलाई राहत वितरणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री देउवाले इटहरी उपमहानगरपालिका क्षेत्रका बाढी पीडितसंग भेट गरी विस्थापनमा परेका परिवारलाई राहत र घरबासका लागि व्यवस्था गरिदिने आश्वासन दिनुभएको हो । प्रधानमन्त्री देउवाले इटहरीको समस्याको रुपमा रहेको शेरा खोला र बुढि खोला नदी नियन्त्रण गर्ने आश्वासन दिनुभयो ।  प्रधानमन्त्री देउवाले सरकारले यस अघि घोषण गरे अनुसार विस्थापनमा परेका परिवारलाई २ लाख दिने र घरबार नभएका विस्थापित परिवारका लागि पुर्नबासको व्यवस्था गर्ने पनि स्पष्टपार्नुभयो । यस्तै बाढि पिडीतहरुको अवस्था बुझेपछि गृहमन्त्री जनार्दन शर्माले पहिलो चरण अन्र्तगत खोजी उद्धारका कार्यहरु सक्ने र त्यसपछि राहत वितरणमा लाग्ने बताउनुभयो । 

गृहमन्त्री शर्माले राहत र उद्धार सम्बन्धित पिडीतसम्म पुग्ने गरि काम गर्ने सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको बताउनुभयो । पिडितका लागि जाने राहतको दुरुपयोग तथा चुहावट हुन नदिने गरी काम गर्न स्थानिय जनप्रतिनिधिलाई निर्देशन दिएको जानकारी दिनुभयो । बाढीका कारण सुनसरीमा मात्रै ९ जनाको मृत्यू भएको छ ।