समाचार

उद्धारमा जुट्नुपर्ने बेला स्काउट पदाधिकारी विदेश शयरमा

दाहाल, भण्डारी, घिमिरे र वोहोरा रातारात विदेश
काठमाडौ । मुलुक यतीखेर प्राकृतिक प्रकोप बाढीपहिरोको चपेटामा परेको छ । शनिबार एकाविहानैदेखि परेको मुसलधारे पानीका कारण ७० जनाले अकालमा ज्यान गुमाइसकेका छन भने खरबौं रुपैयाँ बराबरको धनमाल नष्ट भइसकेको छ । 
२००९ सालमा स्थापित गैरराजनैतिक संस्था नेपाल स्काउटमा नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहाल, सचिव लोक बहादुर भण्डारी, देवराज घिमिरे र हाल नेपाल स्काउटका प्रवन्धक केशव वोहोरा शनिबार राती विदेश शयरमा निस्केका हुन । अजरबैजानको बाकु शहरमा सोमबारदेखि शुक्रबारसम्म आयोजना हुन लागेको  ४१ औं विश्व स्काउट सम्मेलनमा भाग लिन भनेर उनीहरु रातारात त्यता उडेका हुन । 

मुलुक बाढी पहिरोको चपेटामा डुबेको अवस्थामा बाढीपहिरो पीडितलाई उद्धार र राहतको काम गर्ने त परै जावस्  रातारात दर्ता चलानीविनाको आह्वान पत्र लेखेर फेसबुकमा पोष्टगरि उनीहरु आफ्नो नैतिकहीन व्यवहार देखाउँदै विदेश शयरमा गएका हुन । ‘विपद् व्यवस्थापन तालीम लिएका स्काउट र अन्य स्काउटले आआफ्नो नजिकका बाढीपीडितलाई सहयोग गर्नु’ भन्ने आदेश दिएर पदाधिकारीहरु मोजमस्तीका लागि विदेश गएका हुन । विगतमा सर्वसाधारणलाई दुःख पीर पर्दा साथ दिने संस्थाको रुपमा परिचित नेपाल स्काउट तीनवर्षअघिदेखि एमालेकरण भएको आरोप लाग्दै आएको छ । 

नेपाल स्काउटको भ्रमणभत्तामा लाखाैं रुपैयाँ खर्चेर उनीहरु त्यता गएको इमान्दार स्काउटहरुले आरोप लगाएका छन् ।सिन्धुपाल्चोक जिल्लास्काउटका जिल्ला आयुक्त देवदूत अधिकारी समेतको स्काउट टोलीले यस्तो अवस्थामा नेपाल स्काउटको ढुकुटी रित्याउँदै विदेश भ्रमण गएका स्काउट पदाधिकारीको विरोधमा स्काउटहरुले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा विरोधपत्र दर्ता गर्ने कार्यक्रम राखेका छन् । ‘विदेश घुम्ने पैसा अहिले बाढीपहिरो पीडितका लागि उपलब्ध गराउनसकेको भए यतीखेर नेपाल स्काउटको जय जयकार हुन्थ्यो’—अधिकारीले भने ।

नेपाल स्काउटको ऐन र नियम मिचेर युवा तथा खेलकूद सचिव महेश दाहालको चाकरी गर्दै गैरकानुनी रुपमा पदमा टिकिरहेका ती पदाधिकारीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले एकचोटी प्रधानमन्त्री कार्यालयमा बोलाएर हप्ताई सकेतापनि उनीहरु लाज पचाएर पदमा बसिरहेको अधिकारी बताउाछन । 

अरुलाई अनुशासन, नैतिकता, इमान्दारिताका कुरा सिकाउने तर आफ्नो व्यवहारमा यी तीनैथरी कुरा कार्यान्वयन गर्न नसक्ने स्काउट पदाधिकारीको नैतिकता र स्वार्र्थीपनका कारण गत ३ वर्षदेखि नेपाल स्काउट बदनाम हुँदै गएको छ ।

२०७२ बैशाख १२ र २९ को भूकम्प ताका पनि स्काउटका पदाधिकारीहरु भूकम्प गएको चार दिनसम्म मौन बसेका र फिल्डमा काम गरेका अन्य स्काउटहरुको फोटो संकलन गरि देश विदेशमा देखाएर आफु कमाउने र घुम्ने वातावरण बनाएको आरोप लाग्दै आएको छ ।