समाचार

बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४५ नाघ्यो

काठमाडौं, २९ साउन । विगत केहि दिनदेखि परिरहेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४५ नाघेको छ ।  सुनसरीमा– ९, मोरङमा–५, सिन्धुली र झापामा, बाँकेमा ४–४ जना, सर्लाही, पाँचथर र सुर्खेत ३–३ जनाको ज्यान गएको छ ।

यस्तै, बारा, बर्दिया र दाङमा २–२ जनाको मृत्यु भएको छ भने पाल्पा, धनुषा र मकवानपुरमा एक–एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  आज बिहान ललिपुरसँग सीमाना जोडिएको मकवानपुरको अम्बासवेशीमा पहिरोमा पुरिएर एकै परिवारका सात जना वेपत्ता भएका छन् । बाढी पहिरोमा परी हजारौं विस्थापित भएका छन् । सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न निर्देशन दिए पनि लगातारको झरीका कारण कठिनाई भएको छ । 

तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् । यस्तै बर्दियाको बबइ नदीमा आएको बाढीले गुलरिया बढी भूभाग डुबानमा परेका छन्  धुनषामा पनि चार सय घर डुबानमा परेका छन् भने एक सय घरमा क्षति भएको छ । सप्तरीमा पनि सैयौं घर डुबानमा परेका छन् ।  यसैबीच, देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आइतबार ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । 

पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा कम पानी पर्ने अनुमान गरिएको छ । यसैबीच बाराको लालबकैया खोलामा आएको बाढीले निजगढ क्षेत्र जलमग्न भएको छ भने निजगढ पथलैया सडक खडकखण्डस्थित दुधौरा पुल, भास्सिए पछि आवागमन ठप्प बनेको छ । 

रौतहटको राजपुरस्थित थरहथवामा सुत्केरी बोकेको जीप नहरमा डुबेपछि ६ जनाको मृत्यु भएको छ । लौकहा– ३ बाट प्रसूतीका लागि राजपुर प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा जीप खोलामा डुबेको हो । ज्यान गुमाउनेमा ४ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ ।