बलराम प्यासी
ललितपुर, २९ साउन । लुभु, लामाटार, सिस्नेरी, गोदावरी लगायतका ठाउँमा शनिबार एकाविहानैदेखि परेको भीषण वर्षाका कारण महालक्ष्मी नगरपालिकाको वडा नं ५ र ७ मा पर्ने टिकाथली र चाँगाथली जोड्ने गोदावरी खोलाको सवारी चल्ने फलामे पुल भासिएको छ । गोदावरी खोलामा श्रींगेरी खोलाको पानी पनि मिसिएपछि टिकाथलीसम्म आईपुग्दा यसले उग्ररुप लिएको हो ।
उत्तर हुँदै वगेर हनुमन्ते खोलामा मिसिनु १ किलोमिटर अगाडिको सो फलामे पुल भासिएपछि पुलबाट चारपांग्रे सवारी साधनलाई आवत जावत गर्न रोक लगाइएको छ भने सर्वसाधारणको आवतजावत र दुईपांग्रे सवारीमा भने रोक लगाइएको छैन । बाढीका कारण पुलको दुईवटा पक्की पिलर मध्ये एउटा पिलरको जग भासिएपछि पुलको पश्चिमतर्फको केही भासिएको थियो ।
बाढीले गोदावरी खोलाको दायाँवायातर्फका ५० मिटरसम्म बनेका घर टहरामा पाँचफिटसम्म पानी छिरेर भौतिक सम्पत्तिमा क्षति पुर्याएतापनि शनिबार साँझसम्म कुनै मानवीय क्षति भने भएको छैन । खोलाको सतहबाट बाढी करीव १० देखि १२ फिटसम्मको उचाईमा बगेको थियो ।
खोला किनार अतिक्रमण गरी गैरकानुनीरुपमा बस्नेहरुलाई शनिबारको वर्षातले नराम्ररी झस्काईदिएको महालक्ष्मी नगरपालिकाका युवा समाजसेवी विवेक कार्कीले राजधानीलाई बताए । गोदावरी खोलाको दायाँवायाँको प्लटिंग गरिएका जग्गाहरु महंगोमा किन्नेहरु शनिबारको बाढीले आफ्नो जग्गा चुर्लुम्म डुबाएपछि निकै चिन्तित देखिन्थे ।
उता ललितपुरको दक्षिण भेगबाट उत्तरतर्फ बग्ने उपत्यकाको एकमात्र कर्मनाशा खोलामा आएको बाढीले इमाडोल हात्तीवनको लिट्लि एन्जल्स स्कुलदेखि किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, होण्डाको शोरुम र वर्कशपका साथै सिलौटी हाउजिङ्गलगायतमा ३ फिटसम्म बाढी छिरेको थियो ।
Comments