काठमाडौं, २८ साउन । बिगत केही दिनयता देशभर भारी वर्षा भइरहेको छ । वर्षा अझै केही दिन सक्रिय रहेनेतर्फ सतर्क रहन सरकारले सबै सर्वसाधारणलाई आग्रह गरेको छ । पूर्वमा झापादेखि पश्चिममा चुरे क्षेत्रसम्म बाढीको जोखिम रहेको भन्दै सतर्क रहन सरकारले अनुरोध गरिएको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ । भारी वर्षा हुने भएकाले पूर्वका कन्काई, कोशी, कमला, बिरिङ, त्रियुगा, बाग्मती, खाडो, रातु, लालबकैया र पूर्वी राप्तीमा बाढीका कारण पानीको सतह बढेकाले जोखिम बढेको छ ।
यसैबीच, केहीदिन यता परेको अविरल वर्षाका कारण तराईका विभिन्न स्थल र ग्रामिण क्षेत्रहरू अति प्रभावित भएकाले शनिबार बिहान उद्धार तथा राहतका लागि सहरी विकास मन्त्री प्रभु साहले तत्कालै तराईका बाढी पीडितहरूलाई उद्धार र राहत वितरण गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
पछिल्लो तीनदिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको तिलाठीसहित तराईका अधिकांश भूभाग डुबानमा परेका छन् । ग्रामिण इलाकामा बनेका फुसका घरहरु पानीले गलेर ढलेका छन् भने डुबानमा परेका कारण सर्वसाधारणको विचल्ली भएको छ ।
इटहरीमा ६ जनाको शव फेला
इटहरी उपमहानगरपालिकामा बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । राति नै बाढीले बगाएका ६ व्यक्तिको शव शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वालवालिकासमेत छन् । स्थानीय ट्यांग्रा खोला र बुढीखोलाको किनारमा ५ जनाको शव भेटिएको छ भने तरहरामा एकजना वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार बाढीले बगाएर इटहरी ३ गैरीगाँउका ३० वर्षीय माला साह, उनकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भई इटहरी ४ बस्ने माला राईका तीन बर्षे छोरा रुपेस राई र ८ वर्षकी छोरी रुपसनी राईको मृत्यु भएको छ । घरमा बाढी पसेपछि इटहरी ४ आइतबारेका ४० बर्षीय ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीका कारण रातिदेखि नै इटहरी क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध छ ।
बाढीले इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयसमेत डुवानमा परेको छ । नेपाली सेनाको हेलिकप्टर बिहानैदेखि उद्धारका लागि जुटेको छ । यसैवीच सप्तकोशी नदीमा पानीको बहाव वर्षकै उच्च स्थानमा पुगेको छ । शनिबार बिहानको मापनअनुसार सप्तकोशी नदीमा २ लाख ६९ हजार २ सय ५० प्रतिक्युसेक पानी बहेको कोशी व्यारेजले जानकारी दिएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
जनकपुर जलमग्न, मोरङका १५ सय बढी घर डुबानमा
अविरल वर्षाका कारण जनकपुर जलमग्न बनेको छ भने महोत्तरी तथा सलार्हीको अवस्था पनि उस्तै छ । वर्षापछिको डुबान र बाढीले ठूलोमात्रामा धनमालको क्षति भएको आशंका गरिएको छ । त्यस्तै, बाढी र डुबानले ले मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् ।
लगातारको वर्षाले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुबेका छन् । डुबानबाट अन्दाजी ६ सय घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम प्रहरीले गरिरहेको छ । उता, रतुवामाई नगरपलिका ७, ८, ९ र ५ को रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पानी पसेको छ । पानी पसेपछि झन्डै ७ सय घर डुबानमा परेका छन् । डुबानमा परेका परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ।
बाँकेमा चार जनाको शव भेटियो
अविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । बाढीले कबिराज थारुको घर भत्कँदा १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारुको ज्यान गएको हो । बाढीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिए पनि सनाखत हुन सकेको छैन ।
अबिरल वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्गको कुशम कोहलपुर सडक खण्डअन्तर्गत पर्ने गावर खोलाको पुल बगाएको छ । गावरदेखि १२ किलोमिटर पश्चिम गढौली नाकाको पुल समेत बाढीले बगाएको जनाइएको छ ।
बबईको बाढीले कल्भर्टसँगै सडक बगायो
दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । साथै जिल्ला सदरमुकाम घोराहीसँग तुलसीपुरको यातायात सम्पर्क बिच्छेद भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को बखरिया, गोल्टाकुरीको कलम खोला, मोतिपुर, बाँकी गाउँ लगायतका स्थानमा बबई नदीको बाढी पसेको छ । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको तुलसीपुर प्रहरीले जनाएको छ ।
बबई नदीमा पानीको सतह अझै बढ्न सक्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय दाङले स्थानीयबासीलाई आग्रह गरेको छ । त्यस्तै,घोराही–तुलसीपुर सडक खण्डको हात्ती खौवा र मोतिपुर बीचमा पर्ने खोलामा आएको बाढीले कल्भर्ट बगाएको छ । कल्भर्टसँगै बाटो बगाएकाले तुलसीपुर घोराही आवत जावत गर्ने गाडी र तिनमा सवार यात्रुहरु अलपत्र परेका छन् ।
गृह मन्त्रालयद्वारा सार्वजनिक अपिल
गृह मन्त्रालयले विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु बाढी, पहिरो र डुवानका समस्या निम्तिएपछि खोज , उद्दार र राहतमा सहयोग सार्वजनिक अपील गरेको छ ।
मन्त्रालयले एक अपिल जारी गर्दै भनेको छ, ‘यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आआफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृह मन्त्रालय हार्दिक अपिल गर्दछ ।’
मन्त्रालयले देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको भन्दै सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । अविरण वर्षाका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दांग, बांकेलगायतका जिल्लाका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् । यसैगरी मध्य पहाडी क्षेत्रका विभिन्न स्थानहरुमा पहिरो गएको छ । बाढी, पहिरो र डुवानबाट जनधनको ठुलो क्षति भएको छ । यसबाट सार्वजनिक जीवन प्रभावित हुन पुगेको छ ।
मन्त्रालयले खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको छ ।
Comments