समाचार

विमस्टेक बैठकः स्वतन्त्र व्यापार सम्झौताको तयारी

काठमाडौं, २७ साउन ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १५ औं मन्त्रिस्तरीय बैठक बिहीबारदेखि काठमाडौंमा जारी छ । ७ सदस्य राष्ट्रका परराष्ट्र मन्त्री तथा उच्च अधिकारी सहभागी बिमस्टेक मन्त्रिस्तरीय बैठकको अध्यक्षता गरिरहेको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले बिमस्टेक विश्वको १५ प्रतिशत जनसंख्या भएको समुन्द्रिक सतहदेखि उच्च हिमाल रहेका देश सम्मलित प्राकृतिक स्रोतमा विविधतापूर्ण एसियाको उपक्षेत्रीय संगठन भएको बताएका छन् । उनले यो संगठनमार्फत स्रोत र साधनको प्रयोग गर्न सके विकास र समृद्धी जनतासम्म पुग्ने विश्वास व्यक्त गरे । 
देउवाले बिमस्टेकले अन्तर–राष्ट्र अपराध, मानव, हातहतियार र लागूऔषध तस्करी नियन्त्रण गर्दै शान्ति र समृद्धि हासिल गर्नका लागि भूमिका खेल्न सक्ने उल्लेख गरे । बैठकमा आयोजक राष्ट्रको तर्फबाट स्वागत मन्तब्य राख्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दक्षिण र पूर्वी एसियालाई जोड्ने संगठनका रुपमा रहेको बिमस्टेकलाई संयुक्त प्रयासबाट फलदायी बनाउन सकिने धारणा राखे । 

उनले स्थापनाको २० वर्षपछि नेपालमा पहिलोपटक परराष्ट्रमन्त्री स्तरीय बैठक आयोजना भएको र यो वर्षभित्रै सम्मेलन समेत आयोजना गर्ने बताए ।  भारत, नेपाल, श्रीलंका, बंलादेश, म्यानमार, थाइल्याण्ड र भुटान सदस्य रहेको बिमस्टेक मन्त्रीस्तिरीय बैठकमा सदस्य राष्ट्रबीच ट्रेड, उर्जा र प्रविधिमा सहकार्यको महत्व र त्यससम्बन्धि सम्झौता हुने बताइएको छ ।  बिहीबार बसेको सदस्य राष्ट्रको उच्चस्तरीय अधिकारीहरुको बैठकले मन्त्रीस्तरीय बैठकमा शुक्रबार हुने छलफलको एजेण्डा तयार पारेको थियो ।

जसमा स्वतन्त्र व्यापार सम्झौता, सञ्चार सञ्जाल विस्तार, प्रविधि हस्तान्तरण तथा बिस्तारको सम्झौता तथा सुरुवात गर्ने गरी बैठकका एजेण्डा तय गरेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए । उच्चअधिकारीको बैठकले बिमस्टेक सदस्यराष्ट्रले व्यापार, लगानी, सञ्चार, उर्जा र पर्यटनको क्षेत्रमा समेत जोड दिनुपर्ने उल्लेख गरेको सचिव बैरागीले जानकारी दिए । यसको कार्यन्वयनका लागि सदस्यराष्ट्रहरुले बिमस्टेक सेन्टर स्थापना गर्नुपर्ने बताइएको छ ।

त्यसैगरी नेपालले हिमालयन अर्थतन्त्रको अवधारणापत्र पेश गर्ने र त्यसलाई अन्तिम रुप दिन विज्ञहरुको बैठक आह्वान गर्ने प्रस्ताव समेत गरेको थियो । बैठकले आगूऔषध तस्करी नियन्त्रण, आतंकबाद नियन्त्रण, गरिबी निवारण लगातका विषयमा समेत छलफल गर्नुपर्ने औलाएको छ । त्यसका साथै मन्त्रिस्तरीय बैठकले बिमस्टेक सम्मेलनको मिति र स्थानसमेत तय गर्नेछ ।