समाचार

बिम्स्टेक मन्त्रीस्तरीय बैठक काठमाडाैंमा

काठमाडौँ, २६ साउन ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक आजबाट काठमाडौंमा शुरु हुने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। तीन वर्ष अघि नेपाल बिमस्टेकको अध्यक्ष भएपछि पहिलो पटक हुन लागेको विदेश मन्त्रीस्तरीय बैठकमा विभिन्न १४ वटा विषयमा छलफल गर्ने कार्यतालिका बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिहीवार दिउँसो सचिवस्तरीय बैठक हुने र साँझ प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। मन्त्रीस्तरीय बैठक शुक्रबार हुनेछ। बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बंगलादेशका विदेश मन्त्री अबुल हसन महमुदअली र भूटानका विदेश मन्त्री दाम्चो दोर्जी आगामी बिहीबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ। बैठकले नेपालमा अब हुने भनिएको बिमस्टेक शिखर सम्मेलनको तिथि तय गर्ने बताइएको छ।

नेपाल अहिले बिमस्टेक र दक्षिण एसियाली देशहरुको क्षेत्रीय सहयोग संगठन सार्क दुवैको अध्यक्ष राष्ट्र हो। भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको चौथो शिखर सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय मन्त्रीस्तरीय बैठकले गर्ने सम्भावना छ। 

मन्त्रीस्तरीय बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिए। दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो।