मनोरंजन

चलचित्रकर्मीको पहिलो रोजाइमा फुँयाल स्टूडियो

काठमाडौं, साउन । सरकारी स्तरबाट घोषणा गरिएको फिल्मी स्टूडियो तथा फिल्म सिटीको अवधारणा कथामा सिमित भइरहेको अवस्थामा निर्माता निर्देश बीबी फुँयालले आफ्नै लगानीमा भक्तपुरमा हालै सञ्चालनमा ल्याएको फुँयाल स्टूडियोमा चलचित्रको चाप बढ्न थालेको छ ।

स्थापना भएका एक दर्ज बढी स्टूडियोहरु बन्द भइसकेको अवस्थामा फुँयाल स्टूडियोले भने कामको  चाप अत्यधिक पाएको छ । यो स्टूडियो चलचित्रकर्मीका लागि पहिलो रोजाइको स्टूडियो बनेको छ । स्टूडियोमा चलचित्र, टेलिफिल्म र विज्ञापनका सुटिङ गर्र्नका लागि पालो कुर्नुपर्ने अवस्था आउन थालेको छ । 

फुँयाल आफैले चलचित्र निर्माण र निर्देशन गर्दा छायांकनको लागि अत्यावश्य भौतिक पूर्वाधार के के चाहिन्छ भन्ने गहिरो ज्ञान भएकै कारण उनले सम्पूर्ण पूर्वाधारको जोही गरी स्टूडियो निर्माण गरेको हुनाले पनि कलाकारहरु स्टूडियोतर्फ आकर्षित भएका हुन् । 

नियमित रुपमा छायांकन भइरहेको टेलिचलचित्र जिरे खुर्सानीका निर्माता निर्देशक जितु नेपालले यो स्टूडियोमा आएपछि अन्य लोकेशन खोज्न कतै जानु नपर्ने र पूरा प्याकेज स्टूडियो मै भएकाले आफ्नो युनिटले यहीबाट छायांकन गर्दै आएको बताए । 

अहिले छायांकन भइरहेको चलचित्र उल्झनका निर्देशक राजु अधिकारीले नियमित सुटिङ गर्ने निर्माताहरुका लागि फुँयाल स्टूडियो विशेष हुने बताए । उनले सञ्चालक बीबी फुँयाल नेपाली चलचित्रको अवस्था बुझेको मान्छे भएका कारण यहाँ काम गर्न सहज हुने भएकोले चलचित्रको इनडोरको छायांकनका लागि यही स्थल रोजेको बताए । 

नियमित विज्ञापनको सुटिङ गर्ने अनन्त तिमल्सिनाले भने– ‘स्टूडियो मात्र बनाए हुँदैन सञ्चालक पनि हाम्रो मर्का बुझ्ने हुनुपर्छ’ फुँयाल स्टूडियोका सञ्चालक आर्थिक रुपले पनि सहज र व्यवहारिक भएको हुँदा आफूले पनि प्रायः यही स्थल रोज्ने गरेको बताए । 

युवा निर्देशक बीबी फुयाँलले मध्यपुर थिमीको राधे राधे नजिकै सञ्चलानमा ल्याएको स्टुडियोमा चलचित्र, टेलिचलचित्र र म्युजिक भिडियोसम्मको छायाँकन सुबिधा छन् । बेड रुम, लिभिङ रुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, बार, क्रोमा सेटसहितका सुविधा स्टुडियोमा छन् । 

चलचित्रका लागि आवश्यक कम्प्लिट स्टुडियो आफुले बनाएको निर्देशक फुयालले बताए । एकवर्ष खर्चिएर बनाएको स्टुडियो अन्तर्राष्ट्रियस्तरको रहेको उनले दाबी गरे ।