काठमाडौं, २५ साउन । सरकारकै संरक्षणमा नेपाली महिलाहरुको खाडी मुलुकमा बेचविखन भइरहेको खुलासा भएको छ । व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तरगतको उपसमितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण गरी तयार पारिएको प्रतिवेदनमा बेचविखनमा परेका महिला कामदारहरु दुतावासको शरणमा आउने गरे पनि सरकारकै संरक्षणमा दोषीमाथि कार्वाही हुन नसकेको पाइएको हो ।
समितिको बैठकमा प्रतिवेदन पेश गर्दै उपसमितिका सदस्य विनोद श्रेष्ठले मानव तस्करमा संलग्न व्यक्तिहरुलाई कार्वाही गर्न भूमिका खेल्नुको सट्टा परराष्ट्र मन्त्रालयले आफूसँग प्राप्त सूचना समेत लुकाई मानव तस्करीलाई सघाएको देखिन आएको स्पष्ट पार्नुभयो । उपसमितिले कतिपय महिलाहरु नेपालकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै सरकारी सेटिङमै खाडी मुलुक पठाउने गरेको पाइएको पनि स्पष्ट पारेको छ । त्यस्तै, उपसमितिले दोहोरो श्रम सम्झौताका कारण पनि नेपाली कामदार माथि शोषण हुने गरेको पनि खुलाएको छ । उपसमितिका सदस्य श्रेष्ठले धेरैजसो महिला कामदारमाथि विदेशमा शारिरीक यातनासँगै शोषण हुने गरेको पाइएको बताउनुभयो ।
अधिकांश घरेलु कामदारहरुलाई आफू कुन ठाउँमा छु भन्ने समेत जानकारी नहुँदा उनीहरुको उद्धार कार्यमा समस्या हुने गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । साउदी अरव पुगेका महिला कामदारहरुलाई वर्षौ तलव नदिई घर मालिकले नेपाल पठाउने गरेको पनि पाइएको छ । यसरी अवैध रुपमा विदेश जाने कामदारहरुमध्ये ६० प्रतिशत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै सेटिङका आधारमा पठाउने गरेको पाइएको हो । पछिल्लो समय मानव तस्करी बढ्दै गएपछि समितिले उपसमिति नै बनाएर खाडी मुलुकको स्थलगत अवलोकन गरी प्रतिवदेन तयार पारेको हो ।
Comments