समाचार

एउटी महिलालाई वज्रपात, एकैदिन पति र नवजात छोरी गुमाइन्

बलराम प्यासी

काठमाडौ ।  नियतीले मानिसलाई ठगेपछि कसैको केही लाग्दैन । भाग्यले ठगिएपछि आफ्नो जीवनमा घटेको अपुरणीय क्षतिको पीडा भोग्नुपरेको छ रामेछापको दोरम्बा गाउँपालिका वडा नं ५ रजमनटारकी २७ वर्षिया रीमीता श्रेष्ठलाई अहिले । 

साउनको पहिलो हप्तासम्म सुखैसुखले भरिएको जीवनमा एकैचोटी दुईवटा बज्रपात परेपछि उनी अहिले रुन पनि सकिरहेकी छैनन । हाँस्ने कुरा त अब उनको जीवनबाट कोशौं टाढा भागेको छ । व्रत बसेर पतिको आयु बढाउने साउन महिनामै पति नै गुमाउनुपर्ला भनेर उनले रत्तिभर सोचेकी थिइनन ।

पतिमात्रै होइन दोस्रो सन्तानको रुपमा भर्खर जन्मिएकी छोरीलाई घमा लगेर न्वारान गर्न पनि नपाउँदै अस्पतालबाटै सदाको लागि विदा गर्नुपर्यो । एकैदिनमा दोहोरो पीडा बोक्न वाध्य पत्नि र नवजात शिशुकी ती आमाको वेदना अहिले कसैले पनि तुलना गर्न सकिरहेको छैन । जीवनमा एकैचोटी दुईवटा वज्रपात परेर कहिल्यै निको नहुने पीडा खप्न विवश रीमिता यतिखेर आफ्नो पति र नवजात छोरीको किरीयामा बसेकी छिन । 

लामो समयदेखि कतार एयरवेज कतारमा सुपरभाइजरको काम गर्दै आएका रीमीताका २८ वर्षे पति इन्द्र श्रेष्ठ दोस्रो सन्तान जन्मिने हर्षको बेला पारेर बिदा लिई कतारबाट गत असार २८ गते काठमाडौ उत्रिएका थिए । कोटेश्वरमा भाडामा बस्दै आएकी रीमीता पति काठमाडौ आएपछि उनको खुसीको सीमा नाघेको थियो । बाबुको आँखै अगाडि आफ्नो दोस्रो सन्तान जन्मिने भयो भनेर उनी दंग थिइन । तर उनको खुसीको सीमा पति फर्केको तीन हप्ता पनि टिक्न पाएन ।

इन्द्र काठमाडौ आएको आठौं दिनमा पाटन अस्पतालमा रीमिताको कोखबाट साउन ५ गते दोस्रो सन्तानको रुपमा छोरी जन्मिन् । जन्मिँदादेखि नै मुटुको भल्वमा समस्या देखिएपछि नवजात शिशुलाई पाटन अस्पतालको आइसियुमा राखेर उपचार गरिराखेको थियो । 

छोरी जन्मेको खुसी एकातिर र त्यति सानी नानीको मुटुमा समस्याको पीडा अर्काेतिर बोकेर रातभरी सुत्केरी पत्नि रीमीतालाई कुर्न पाटन अस्पताल बसेका इन्द्र भोलिपल्ट एकाविहानै मोटरसाइकल चढेर कोटेश्वर डेरामा जाँदै थिए । 

बालकुमारी पुलबाट कोटेश्वर चोक नपुग्दैको चक्रपथमा बनेको नयाँ आकाशेपुलमुनि उनी चढेको बा ७२ प २४७५ नंको मोटरसाइकल एक्कासी पल्टियो र उनी टाउकोमा गम्भीर चोट लागेर घाइते भए । एकाविहानै तीव्रगतीका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाई छ ।

कोटेश्वर प्रहरीले उनलाई तत्कालै उपचारको लागि काठमाडौ मेडिकल कलेज सिनामंगल लग्यो  । अस्पतालका चिकित्सकले तत्काल उनको उपचार शुरु गरे । उनको टाउकोमा जमेको रगत भोलिपल्ट शल्यक्रिया गरि निकालेपछि इन्द्र होसमा आएका थिए । र, केही दिनपछि उनी खान र बोल्न पनि थाले ।

उता पाटन अस्पतालमा १२ दिन राखेर उपचार गरेपछि पनि नवजात छोरीको स्वास्थ्यमा सुधार नभएपछि तत्काल शल्यक्रियाको लागि उनलाई साउन १८ गते गंगागाल हृदयकेन्द्रमा लगियो । शल्यक्रियाकै क्रममा जन्मेको १४ औं दिनमा साउन १९ गते ती नवजात छोरीको मृत्यु भयो । 

उता काठमाडौ मेडिकल कलेजमा शल्यक्रिया गरि होसमा आएर खानपीन गर्न थालिसकेका इन्द्र अचानक फेरी वेहोस भए । उपचारका क्रममा उनलाई निमोनिया भएको पत्ता लागेर त्यसको उपचार शुरु नहुँदै साउन १९ गते नै नवजात छोरीका पिता अर्थात इन्द्रले पनि यो संसार त्यागे । 

साउनको पहिलो हप्तासम्म उत्साह र उमंग भरिएको भविश्यको कल्पनामा रमाएकी रीमीतालाई साउन १९ गते अब कहिल्यै पनि दोहोरिएर नआओस जस्तो लागेको छ । किनकी त्यसै दिन उनले आफ्नो शौभाग्यको रुपमा रहेका पति र लक्ष्मीको रुपमा भित्रिएकी नवजात छोरी दुवै गुमाउनुप्रयो ।

मुटुको भल्वको शल्यक्रिया गर्दागर्दै मृत्यु भएकी नवजात छोरीको शव शनिबार नै अन्तेष्टि गरियो । इन्द्रको शवको पोस्टमार्टम गरेपछि साउन २२ गते आइतबार पशुपतिमा दाहसंस्कार गरियो ।