समाचार

भरतपुरमा मत गणना जारी, समग्रमा देवी अगाडि

चितवन, २१ साउन । भरतपुर महानगरपालिका वडा नं १९ को दोस्रो पटक भएको चुनावको मतगणना जारी रहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को १२ सय ६ मत गन्दा रेणु दाहालले १ सय ७१ मतले अग्रता लिइरहनु भएको छ । तर समग्रमा भने देवी ज्ञवालीको अग्रता कायम नै छ । १६ सय मत गणना हुँदा देवी ज्ञवालीले ४१ हजार ५ सय ४३ मत प्राप्त गर्नुभएको छ  भने रेणु दाहालको मत ४१ हजार ३१ रहेको छ ।१९ नम्वर वडाको मत गनेर २० नम्वर वडाको सुरु गर्ने तयारी छ । पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए ।

मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ । मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ ।

दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार भएको मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको हो । भरतपुर–२० को ३३०२ र भरतपुर–१९ को २८८७ मतसहित ६१७२ मत गन्न बाँकी छ ।