चितवन, २० साउन । गत बुधबार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखन्ड शुक्रबार दिउँसो २ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखन्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सन्चालनमा आएको हो ।
बिहीबार राति सडक बगाएको भालुढुंगामा भने एकतर्फी सन्चालनमा आएको खनालले बताए । साँझसम्ममा सो ठाउँमा पनि दुईतर्फी सवारी सन्चालनमा आउने उनले बताए ।
आयोजनाका इन्जिनियर खनालकाअनुसार नारायणगढबाट २७ किमिको दूरीमा रहेको भालुढुंगामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको थियो ।
सो ठाउँमा तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम भइरहेको उनले बताए । सडकमा पहिरो पन्छाउन मुग्लिनतर्फ चार लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सिमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए ।
तीन दिनदेखि सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्री सडक सन्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।सडकका संवेदनशील क्षेत्रमा पहिरोका बीचमा रहेका १२५ ओटा सवारी–साधनलाई बिहीबार साँझ एकतर्फी सडक खोलेर गन्तव्यतर्फ पठाइएको थियो ।
Comments