चितवन, १९ साउन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १ सय २५ भन्दा बढी सवारी–साधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार अलपत्र परेका सवारी–साधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ ।
बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे कालीखोलानजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सो ठाउँमा काठमाडौंबाट इलाम जान आउँदै गरेको ना६ख ७१२१ नम्बरको यात्रीबाहक बस र बा१५च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका थिए । बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ ।
पहिरो खसेको देखेपछि चालकले गाडी रोकेर चालक र यात्री भागेर बाँच्न सफल भएका थिए । घटनास्थल मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ कालीखोलानजिकै पर्छ । त्यसैगरी, उक्त सडकखन्डको चेपाङडाँडामा बुधबार राति रोकिराखेका दुई ट्रक माथिबाट झरेको लेदोले पुरिएका छन् ।
ट्रक चालक भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सो सडकको दुईकिलो, तीनकिलो, सेतीदोभान, घुमाउनेलगायतका १० भन्दा बढी ठाउँमा ठूला पहिरो खसेको छ ।
अरु ठाउँमा पनि सानातिना पहिरो खसेको भएपनि यकिन तथ्यांक भने आउन नसकेको उनले बताए । पानी परिरहेकाले पहिरो खस्नेक्रम जारी रहेको छ । जसका कारण पहिरो पन्छाउनसमेत कठिन भएको खनालले बताए ।
पहिरो पन्छाउन लोडर र एक्साभेटर गरी पाँचओटा साधन परिचालन गरिएको छ । ठाउँठाउँमा पहिरो खसेकाले बीचबीचमा सवारी–साधन अलपत्र परेका छन् । बुधबार साँझबाट पहिरो खसेर सडक अवरुद्धपछि यात्री अलपत्र परेका छन् ।
स्तरोन्नति भइरहेको सो सडकमा वर्षा लागेसँगै पहिरो खसेपछि सरकारकोसमेत ध्यानाकृष्ट भएको छ । बुधबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडकखन्डको अवलोकन गर्दै निर्माणकार्य छिटो सक्न निर्देशन दिएका थिए ।
Comments